निर्वाचन आयोगले निकालेको प्रेस विज्ञप्ती ।

हेटौंडाः निर्वाचन आयोगले निर्वाचन प्रचारमा संलग्न सरकारी स्रोतबाट तलब भत्ता खाने शिक्षक, कर्मचारीलाई कारवाही अघि बढाएको छ । सरकारी तलब भत्ता खाने व्यक्तिले कुनै पनि उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार गर्न नपाइने आचारसंहिता लागू भएको भन्दै उम्मेदवारको प्रचारप्रसार हुने कुनै क्रियाकलाप गरे कारवाही हुने जानकारी दिएको छ ।

मंगलबार आयोगले विज्ञप्ति जारी गर्दै आचारसंहिताविपरित सरकारी स्रोतबाट तलब भत्ता खाने केही कर्मचारी उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता, २०७९ को अनुगमन गर्दा कतिपय कर्मचारी तथा शिक्षकहरुले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्रीहरुको शेयर र लाइक गरेको पाइएको भन्दै उनीहरुमाथि आवश्यक कारवाही थालेको जनाएको छ ।

“आचारसंहिता प्रतिकूल हुनेगरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरु राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा सम्लग्न भएको पाइएको” निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आचारसंहितामा सरकारी स्रोतबाट तलब भत्ता खाने कर्मचारीहरुले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा सम्लग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारपसार सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत् मत माग्न नहुने व्यवस्था गरिएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षक, सरकारी वा गैरसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नुपर्ने आचारणहरुबारे स्पष्ट व्यवस्था गरिएको छ । उक्त व्यवस्था उल्लंघनकर्तालाई निर्वाचन आयोग, ऐन २०७३ को दफा २३ बमोजिम स्पष्टीकरण सोधी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको आयोगले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।