लागूपदार्थ ओसारपसार, बेचविखन र सेवन विश्वव्यापी समस्या हो । यसले निम्त्याउने लागूपदार्थ दुर्व्यसनको असर व्यापक छ । हरेक देशले लागूपदार्थ नियन्त्रणका लागि ठूलो लगानी गरिरहेको छ । नेपालमा पनि लागूपदार्थ दुर्व्यसनको समस्या विकराल बनिरहेको छ । लागूपदार्थ दुर्व्यसनको समस्या कम गर्न यसको उत्पादन, ओसारपसार, बेचविखन र सेवन सबै नियन्त्रण हुनुपर्छ । तर, लागूपदार्थको कारोबारलाई रोक्न सकिएको छैन । कतिपय विशिष्ट रोगका बिरामीले प्रयोग गर्ने औषधीलाई समेत लागूपदार्थको रुपमा प्रयोग गरिरहेका कारण यसको उत्पादन रोक्न सकिने अवस्था छैन । यस्ता लागूऔषधको ओसारपसार र बिक्रीवितरण नियन्त्रण गर्नुको विकल्प देखिँदैन । तर, लागूपदार्थका कारोबारीहरुको गिरोहलाई प्रहरीले पत्ता लगाउन नसक्दा यसको प्रभावकारी नियन्त्रण हुन सकेको छैन ।

हेटौंडा र आसपासको क्षेत्रबाट दिनहुँजसो लागूपदार्थ/लागूऔषध ओसारपसार गर्ने व्यक्तिहरु पक्राउ परिरहेका छन् । यसले लागूपदार्थको कारोबार नियन्त्रण गर्न नसकिएको मात्र नभई लागूपदार्थ ओसारपसार तथा बिक्रीवितरणको “‘ट्रान्जिट प्वाइन्ट” को रुपमा हेटौंडा परिचित हुँदै गएको छ । विशेषगरी भारतीय सीमा क्षेत्रबाट भित्रिएका लागूऔषध हेटौंडा हुँदै राजधानी काठमाडौं तथा देशका अन्य भागमा बिक्रीवितरणका लागि लगिने गरिएको पाइन्छ । यस्तै, गाँजा, चरेस, अफिम एवम् विदेशबाट आयातित लागूपदार्थ काठमाडौं तथा देशका अन्य भागबाट हेटौंडा हुँदै भारतीय सीमा क्षेत्रमा पुर्याइने गरिएका कारण हेटौंडाबाट लागूपदार्थ कारोबारी पक्राउ पर्ने क्रम बढी पाइने गरेको छ ।

लागूऔषध दुरुपयोगको समस्या विश्वभर नै खतरनाक र चिन्ताजनक छ । विश्वभरका कूल युवा जनसंख्यामध्ये ५ प्रतिशत युवा पुस्ता लागूऔषधको गलत प्रयोगका कारण समस्यामा पर्नुले यसको विकराल अवस्था प्रष्ट पार्दछ । लागूऔषधका कारण युवा पुस्ता कुलतमा फस्दा यसले राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, विकास निर्माणलगायतका महत्वपूर्ण क्षेत्रमा पार्ने असर अकल्पनीय छ । कलिला उमेरका किशोरकिशोरीहरु लागूपदार्थको नशामा फस्दा उनीहरुको जीवन नारकीय बन्दै गएको छ । समाजमा विभिन्न नकारात्मक पक्षहरुको जन्म हुँदै गएको छ, जसले कालान्तरमा सामाजिक परिवेश, शान्ति र अमनचयन नै भङ्ग हुनेसम्मको खतरा बढ्दैछ । यो खतराको संकेतबाट राज्यले समयमै लागूऔषध दुरुपयोगका गतिविधि रोक्न, न्यूनीकरण गर्न र सुधार गर्न जरुरी छ ।

कानुुनले वर्जित गरेका लागूऔषधको कारोबार गर्ने व्यक्तिहरुलाई प्रहरीले चेकजाँचको क्रममा र विशेष सुराकीका आधारमा पक्राउ गर्दै आइरहेको छ । प्रहरीले अझ सक्रियतासाथ लागूपदार्थ नियन्त्रणका लागि प्रभावकारी अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । लागूऔषध नियन्त्रणमा कानुनी उपायमात्रै प्रभावकारी हुन नसक्ने भएकाले अन्य उपायसमेत अवलम्बन गर्नुपर्ने देखिन्छ । लागूऔषधको कारोबार तथा कुलतमा फसेकालाई निरुत्साहित गर्न प्रहरीले लागूपदार्थ कारोबारीहरुको गिरोह पहिचान गर्नुपर्छ । प्रहरीले पक्राउ परेका व्यक्तिलाई सुराकी बनाएर यसमा संलग्नहरुको सूक्ष्म अनुसन्धान गर्नुपर्छ । प्रहरीको यो अभियानमा आम सर्वसाधारण तथा राज्यका अन्य निकायले सहयोग गर्नु जरुरी छ ।