जिल्लास्तरीय महिला भलिबलको उपाधिसाथ मकवानपुरगढी गाउँपालिकाको टिम ।

हेटौंडाः मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधि मकवानपुरगढी गाउँपालिकाले जितेको छ । बुधबार हेटौंडाको हुप्रचौरमा सम्पन्न फाइनल खेलमा बकैया गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै मकवानपुरगढीले उपाधि जितेको हो । मकवानपुरगढीले उपाधिसँगै नगद ५० हजार रुपैयाँ जितेको छ ।

उपविजेता बकैया गाउँपालिकाले ३० हजार रुपैयाँमा चित्त बुझाएको छ । फाइनल खेलमा मकवानपुरगढीले बकैयालाई २५–१५, २५–१९ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । विजेता र उपविजेतालाई हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

मकवानपुरगढीकी सुस्मिता योञ्जन प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदा मकवानपुरगढीकै सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर, रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको उत्कृष्ट सेटर बकैयाकी कुसुम भोम्जन घोषित हुँदा उदीयमान खेलाडीको रुपमा मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दिपिका कार्की उदीयमान खेलाडी घोषित भएका छन् ।

यसअघि सोमबार सम्पन्न उपेमयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेता तथा उपविजेतालाई पनि बुधबार नै सिल्ड, मेडल तथा प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गरिएको छ । उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको दुबै उपाधि हेटौंडा–१७ ले जितेको थियो भने पुरुषतर्फ हेटौंडा–१९ उपविजेता हुँदा महिलातर्फ हेटौंडा–५ उपविजेता बनेको छ ।