हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस पूर्वविद्यार्थी संगठनको भेला तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ । वडा दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा सोमबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पस रंगशालामा आयोजित कार्यक्रममा पूर्वविद्यार्थीबीच एथ्लेटिक्सका विविध खेलकुद आयोजना गरिएको थियो ।
पूर्वविद्यार्थी संगठनका अध्यक्ष अमुल श्रेष्ठको अध्यक्षता तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसका प्रिन्सीपल एवम् संगठनका संरक्षक पुरनबहादुर जोशीको प्रमुख आतिथ्यमा खेलकुद कार्यक्रमको उद्घाटन समारोह भएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रिन्सीपल जोशीले पूर्वविद्यार्थीलाई संगठित गराएर उनीहरुसँग निरन्तर अन्तरक्रिया गर्ने उद्देश्य रहेको बताउनुभयो । पूर्वविद्यार्थी संगठित भएको छोटो समयमै उल्लेखनीय कार्य गर्न सफल भएको उहाँको भनाइ थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पत्रकार प्रताप विष्टले देशकै परिचित शैक्षिक संस्थाको रुपमा रहेको हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइसेसका विद्यार्थी पनि अब्बल र राम्रो हुनुपर्ने बताउनुभयो । हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियस साइन्सेस निजी क्षेत्रको शैक्षिक संस्था भए पनि सामाजिक सेवाको क्षेत्रमा ठूलो लगानी गरिरहेको बताउनुहुँदै विष्टले म्यानेजमेन्टका पूर्वविद्यार्थी पनि संगठित भएर सामाजिक सेवाको क्षेत्रमा उल्लेखनीय काम गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरेले ख्यातीप्राप्त शैक्षिक संस्थाका पूर्वविद्यार्थीको भेला तथा खेलकुद कार्यक्रम पिप्ले क्याम्पा रंगशालामा आयोजना गरेर रंगशालाको शोभा बढाइदिएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । आगामी दिनमा पनि पूर्वविद्यार्थीबीच खेलकुद गतिविधि रंगशालामा आयोजना गर्न आग्रह गर्नुभयो । संगठनका अध्यक्ष अमुल श्रेष्ठले पूर्वविद्यार्थीलाई संगठित गर्दै जाने र वार्षिकरुपमा खेलकुद कार्यक्रम गर्ने बताउनुभयो ।
एथ्लेटिक्सअन्तर्गत एक सय मिटर महिला दौडमा विनिता भुजेल प्रथम, सुष्मा कँडेल द्वितीय र पूण्यशिला श्रेष्ठ तृतीय हुनुभयो भने दुई सय मिटर पुरुष दौडमा आयुष बोम्जन प्रथम, अनुराग अधिकारी द्वितीय र खड्ग चौलागाई तृतीय हुनुभयो । सटपुट महिलातर्फ विनिता भुजेल प्रथम, पूण्यशिला श्रेष्ठ द्वितीय र मालती पोखरेल तृतीय हुनुभयो । सटपुट पुरुषतर्फ सुरेश श्रेष्ठ प्रथम, छवि अनित्य द्वितीय र पूर्ण ढोडारी तृतीय हुनुभयो । म्युजिकल चेयरतर्फ लेखनाथ ढकाल प्रथम, मालती पोखरेल द्वितीय र खड्ग चौलागाई तृतीय हुनुभयो ।
४ सय मिटर रिले दौडमा पूर्ण ढोडारी, ऋषि केबी, लेखनाथ ढकाल र रामशरण दाहालको समूह प्रथम भयो भने सुरेश श्रेष्ठ, आरके मैनाली, अमृत सापकोटा र खड्ग चौलागाईको समूह द्वितीय भए । यस्तै डोरी तान्ने प्रतियोगितामा अनुराग अधिकारी, आरके मैनाली, अमृत सापकोटा, सुरेश श्रेष्ठ, ऋषि केबी, छवि अनित्य, रचना बज्राचार्य, मालती पोखरेल, अमृता कँडेल, सीता पौैडेल र विनिता भुजेलको समूह प्रथम भएको छ । कार्यक्रममा सहभागी पूर्वविद्यार्थीका बालबालिकाको मागअनुसार एक सय मिटर दौड आयोजना गरिएको थियो । एक सय मिटर दौडमा स्तोत्र लामिछाने प्रथम, स्तुती लामिछाने द्वितीय, सिजन ढकाल तृतीय र शैयल घिमिरे सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।