नवदुर्गा भगवानको पूजाको लागि हेटौंडा ९ औद्योगिक क्षेत्र अगाडी बनाईएको मन्दिर ।

हेटौंडाः नेपाली हिन्दूहरुको महान् चाड बडादशैं सुरु भएको छ । आज मंगलबार दशैंको दोस्रो दिन ब्रह्मचारिणीको पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल द्वितीयामा पर्ने दशैंको दोस्रो दिन दायाँ हातमा जपको माला र बायाँ हातमा कमण्डलु लिएकी नवदुर्गामध्येकी एक ब्रह्मचारिणीको पूजा आराधना गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन दशैं मनाइने गरिन्छ । दशैंको सुरुवात आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेर सुरु हुने गर्दछ । हरेक घरको पूजा कोठा तथा शक्तिपिठहरुको जमरा घरमा घटस्थापना गरेर जमरा राख्दै दशैं भित्र्याइने गरिन्छ ।

प्रतिपदाका दिन घटस्थापना गरेर जमरा राख्नुका साथै शक्तिस्वरुपा भगवती शैलपुत्रीको पूजा आराधना गरिएको छ । साँढेमा बसेकी यी देवीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल हुन्छ । यस्तै, आश्विन शुक्ल तृतीयाका दिन चन्द्रघण्टाको पूजा आराधना गरिन्छ । दश हात भएकी नवदुर्गामध्येकी एक चन्द्रघण्टाको प्रत्येक हात विभिन्न शस्त्र–अस्त्रले विभूषित छन् ।

घटस्थापनाको भोलिपल्ट आश्विन शुक्ल द्वितीयाका दिन झण्डा फेर्ने परम्परा रहेको छ । यसवर्ष आज मंगलबार झण्डा फेर्ने साइत ११ः११ बजे रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ । झण्डा फेर्दा पूर्व मोहडा गरेर फेर्नुपर्ने समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

दशैंको प्रतिपदादेखि नवमीसम्मलाई नवरात्रिको रुपमा चिनिन्छ । नवरात्रिभर नवदुर्गाको पूजा आराधना गर्नुका साथै विभिन्न शक्तिपिठको दर्शन गरिन्छ । देशका विभिन्न भागमा रहेका शक्तिपिठहरुमा श्रद्धालु भक्तजनको विशेष भिड लाग्ने गर्दछ । हेटौंडामा रहेका भूटनदेवी, चुरियामाई, राजदेवी, मनकामना, पाथीभरा, दक्षिणकाली, वनस्खण्डी, बगलामुखी, दुर्गा मन्दिरलगायत शक्तिपिठहरुमा नवरात्रभर भक्तजनको घुइँचो लाग्ने गर्दछ ।