गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेशमा विभिन्न घटनामा परी एकैदिन ६ जनाको मृत्यु भएको छ । धादिङ, काभ्रे, चितवन र मकवानपुर गरी ४ जिल्लामा एकैदिन ६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

सोमबारको घटनामा मकवानपुर जिल्लाको बकैया गाउँपालिकाका २ जनाको ज्यान गएकोे छ । ज्यान गुमाउनेमा बकैया–११, आहालडाँडाका ५५ वर्षीय आइत सिं भोलन रहेका छन् । सोमबार साँझ ७ बजेर ४० मिनेटको समयमा घरमा बसिरहेको अवस्थामा भोलनलाई चट्याङ लागेर घटनास्थलमै ज्यान गएको हो ।

यस्तै बकैया गाउँपालिका–४ बाघमारास्थित ल्वाजोर खोलामा नुहाउने क्रममा डुबेर १६ वर्षीय सचिन थापाको मृत्यु भएको छ । सोमबार दिउँसो १२ बजेर ४५ मिनेटको समयमा थापा ल्वाजोर खोलामा डुबी घाइते भएका थिए । सचिन खोलामा डुबेर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हात्तिसुँडेबाट प्रहरी टोली खटेर घाइते सचिनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी छतिवन ल्याइएको थियो । स्वास्थ्यचौकी छतिवनमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पताल ल्याएकोमा डाक्टरले ३ बजेर १० मिनेटमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सोमबार नै चितवन जिल्लाको भरतपुर महानगरपालिका–२५ मा एक पुरुषको शव फेला परेको छ । राम गुरुङको खेतमा ज्यालादारीमा खेत गोड्ने क्रममा भरतपुर–२६ का ४३ वर्षीय दिपक चन्द खेतमा घोप्टो परेको अवस्थामा मृत फेला परेको हो । स्थानीयका अनुसार चन्द मृगौला रोगी थिए । यस्तै काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ पुरानोबजारमा आगोलागीमा परी एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भारत सितामडी बखडी घर भई हाल पाँचखाल नगरपालिका–४, पुरानो बजारमा डेरा गरी बस्ने ४२ वर्षीय शंकर साह रहेको प्रहरीले जानकारी दिएको छ । साहले आफ्नै कोठामा ग्याँसमा खाना बनाउने क्रममा ग्याँस लिक भई आगोलागी भएको थियो । उनको आगोबाट जलेर घटनास्थलमै मृत्यु भएको हो । आगोलागीबाट साहको कोठामा भएको भाडाकुडा, लत्ताकपडा लगायतका सामग्रीहरु जली नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै, धादिङ जिल्लाको बेनिघाट रोराङ गाँउपालिका–१०, जोगिमारामा चट्याङ लागेर ६४ वर्षीया जितमाया सुनारको मृतु भएको छ । सोमबार साँझ ६ बजेको समयमा घरमा बसिरहेको अवस्थामा चट्याङ लागी घटनास्थलमानै सुनारको ज्यान गएको हो । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३ मा भिरबाट लडेर एक महिलको मृत्यु भएको छ । सोबार दिउँसो २ बजेको समयमा मेलम्चीकी २५ वर्षीया सन्तोकी माया तामाङ पाखोमा घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।