डेंगु नियन्त्रण गर्न स्प्रे गरिँदै ।

हेटौंडाः डेंगु रोगको संक्रमण नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकाले लामखुट्टेको लार्भा र लामखुट्टे नै नष्ट गर्ने स्प्रे गर्न सुरु गरेको छ । डेंगुको संक्रमण दर बढ्दै गएपछि हेटौंडा उपमहानगरपालिकाले विभिन्न वडाहरुमा स्प्रे गर्न सुरु गरेको हो ।

उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाकाअनुसार १, २, ३, ४, ५, १८ र १९ नम्बर वडामा डेंगु नियन्त्रणका लागि नगरपालिकाले स्प्रे गर्न सुुरु गरेको हो । रोगको दर बढ्दै गएपछि हामीले नगर प्रहरीको सहयोगमा स्प्रे गर्न सुरु गरिएको बताइएको छ । मकवानपुरमा डेंगु संक्रमणको दर क्रमशः बृद्धि भइरहेको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार बुधबार १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने बिहीबार ९८ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ ।

पछिल्ला दिनहरुमा तीव्ररुपमा डेंगु संक्रमित बढेका छन् । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जीवाणु नष्ट गर्ने गरी औषधि छर्कन थालिएको हो । संक्रमण फैलन नदिन जनस्तरमा मट्टीतेल प्रयोग गरी लार्भा नष्ट गर्न सचेतनासँगै बढी जोखिम रहेका क्षेत्रमा उपमहानगरले स्प्रे गर्न थालेको उहाँले जानकारी दिनुभयो । संक्रमण फैलिएका वडाको जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यकतानुसार संक्रमण नियन्त्रण अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत चौलागाईंले बताउनुभयो । असार अन्तिमबाट सुरु भएको संक्रमण दर बिस्तारै बढ्दै गएको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाका १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरका बजार क्षेत्रमा पर्ने ४ र ५ वडामा बढी बिरामी देखिएको कार्यालयले जनाएको छ । अन्य स्थानीय तहमा केही संख्यामा डेंगु संक्रमित देखिए पनि नगरभित्र देखिनुले समस्या भएको कार्यालयले जनाएको छ । बिरामीको संख्या बढ्दै जानुले सतर्कता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताइएको छ । संक्रमितको हेटौंडा अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ ।