हेटौंडाः हेटौंडा लेडी जेसिजको साताव्यापी कार्यक्रम बिहीबार समापन भएको छ । सोमबारदेखि विविध कार्यक्रमसहित सुरु भएको जेसिज सप्ताह–२०२२ पुरस्कार वितरण गरी समापन गरिएको हो ।
समापन कार्यक्रममा स्व. बुद्ध रत्न शाक्य स्मृति वक्तृत्वकला प्रतियोगिता र स्लो स्कुटी प्रतियोगितामा प्रथम , द्वितीय, तृतीय र सान्त्वना हुनेहरुलाई पुरस्कृत गरिएको छ । वक्तृत्वकलामा प्रथम उचित बजगाईलाई ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो । यस्तै, द्वितीय सुनिल न्यौपानेलाई ३ हजार रुपैयाँ, तृतीय सुदिन पौडेललाई २ हजार रुपैयाँ र सान्त्वना मधु यादवलाई १ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । यस्तै, स्लो स्कुटीमा प्रथम लक्ष्मी थापा मगर, द्वितीय रिना ठकुरी र तृतीय प्रतीक्षा न्यौपानेलाई स्कुटी हेल्मेटसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
जेसीआई हेटौंडा लेडी जेसिज वर्ष–२०२२ का अध्यक्ष कविता पौडेलको सभाध्यक्ष तथा संविधानसभा सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि संविधानसभा सदस्य पौडेलले जेसिजले गरेको सामाजिक कार्यले प्रेरणा मिल्ने बताउनुभयो ।
हेटौंडा लेडी जेसिजले पहिलो दिन सोमबार आमा घर नेपाल मनहरीलाई सहयोग हस्तान्तरण, हेटौंडा–९ मा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम, हुप्रचौर सरसफाइ कार्यक्रम गरेको थियो । दोस्रो दिन मंगलबार त्रिभुवन मावि हेटौंडा–११ मा आत्मा रक्षा तालिम, मकवानपुर बहुमुखी क्याम्पस हेटौंडा–२ मा बुद्धरत्न शाक्य स्मृति वक्तृत्वकला प्रतियोगिता गरेको थियो । यस्तै तेस्रो दिन बुधबार मञ्जु श्री आधारभूत विद्यालय मकवानपुरगढी–५ मा स्व. बासु प्रसाद पौडेल स्मृति शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम र हेटौंडा–४ मा स्लो स्कुटी कार्यक्रम आयोजना गरिएको थियो । अन्तिम दिन बिहीबार डेङ्गु विरुद्ध सचेतना कार्यक्रम तथा पुरस्कार वितरण गरेर जेसिज सप्ताह–२०२२ समापन भएको हो ।
कार्यक्रम जेसिज राष्ट्रिय उपाध्यक्ष तथा निरुपित राष्ट्रिय जेसिज क्षेत्र (ख) की उपाध्यक्ष रश्मी बस्नेत, हेटौंडा–२ का वडाध्यक्ष विष्णु गोपाल महर्जन, जेसिज सप्ताह मुल संयोजक सजिता केसी खत्री, हेटौंडा जेसिजका अध्यक्ष पवन कुमार कंशाकार, लेडी जेसिज पूर्व अध्यक्षहरु सुशिला पौडेल, प्रतिमा श्रेष्ठ, हेटौंडा जेसिजका महासचिव विकेशलाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।