हेटौंडाः बागमती प्रदेश सरकारले तामाङ भाषा र नेवारी भाषालाई सरकारी कार्यालयमा कामकाजी रुपमा प्रयोग गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको बागमती प्रदेश मन्त्रीपरिषद्को बैठकले सरकारी कामकाजमा तामाङ र नेवारी भाषालाई प्रयोग गर्न दिईने निर्णय भएको प्रदेश सरकारको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो ।
सोमबार बसेको बागमती प्रदेश मन्त्री परिषद्को बैठकले तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्न प्रक्रिया अगाडी बढाएको र त्यसको सम्पुर्ण जिम्मेवारी प्रदेश मुख्य सचिव मुकुन्द प्रसाद निरौलालाई दिएको प्रवक्ता खनालले बताउनुभयो । मन्त्रीपरिषद्को बैठकले ५ वटा निर्णयहरु गरेको छ । बैठकले गत आर्थिक वर्ष २०७८÷७९ सालमा विनियोजित रकम सर्भर डाउन भएर बसेको रकम प्रक्रिया पुरा गरेर भुक्तानी दिने निर्णय गरेको छ ।
यस्तै बैठकले प्रदेश औद्योगिक व्यवसाय नियमावली २०७९ लाई स्वीकृत गरेको छ । प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९ लाई स्वीकृत गरेको छ । यस्तै हेटौंडा अस्पताललाई शैक्षिक अस्पतालको रुपमा विकास गर्ने मन्त्रीपरिषदको बैठकले निर्णय गरेको प्रवक्ता खनालले बताउनुभयो ।