हेटौंडाः बागमती प्रदेशका ४ जिल्लामा विभिन्न घटनामा परी सोमबार ५ जनाको मृत्यु भएको छ । मकवानपुर, दोलखा, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा ५ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–१ का ५७ बर्षीय छत्रबहादुर मगर झर्निखोलामा मृत अवस्थामा फेला परेको छ । घरदेखि नजिकै सोमबार बिहान ७ बजे उनको शव भेटिएको हो । शनिबार घरबाट निस्किएका मगर परिवारको सम्पर्कमा थिएनन् । मगरको शव पोष्टमार्टमका लागि चरिकोट अस्पतालमा पुर्याइएको छ ।
सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–३, पार्किनीबेसी नजिकै सुनकोशी नदि किनारमा सोमबार दिउँसो १ बजेर ४० मिनेटको समयमा शव बरामद भएको छ । स्थानीयले जानकारी गराए पश्चात प्रहरी खटिएको थियो । शव सडेर सनाखत हुन सकेको छैन । महिला या पुरुष भन्ने समेत खुल्न नसक्ने अवस्थामा रहेको प्रहरीले उल्लेख गरेको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–७ की दुदुमाया मोक्तानको मृत्यु भएको छ । गत बिहीबार बिहान ९ बजेको समयमा घरको भर्याङबाट लडेर गम्भीर घाइते भएकी थिइन् । टाउको र ढाडमा गम्भीर चोट लागेर पुरानो मडिकल कलेज भरतपुरमा उपचाररत मोक्तानको सोमबार साँझ ७ बजेको समयमा मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए । यस्तै मकवानपुरको कैलाश गाउँपालिका–२, बैकुण्ठका ४६ वर्षीय रामकुमार बल मृत अवस्थामा भेटिएका छन् । सोमबार बिहान १० बजेर ३० मिनेटको समयमा बल आफ्नै घरदेखि २ किलोमिटर पूर्व रहेको घट्टेखोलाको बगरमा मृत अवस्थामा भेटिएको हो ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–११, ईन्द्रावती खोलामा डुबेर महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेको समयमा ईन्द्रावती खोलामा डुबेकी ६२ बर्षीया मिठु रावलको उद्दार गरिए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।