हेटौंडाः मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टले आफ्नो जन्मदिनको अवसरमा लोपोन्मुख बनकरिया समुदाका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । मंगलबार मकवानपुरको मनहरी गाउँपालिका–४, मुसोधापमा पुगेर विष्टले शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।
बनकरिया समुदायको बालबालिका हरेक दिन बिहान सामूहिक रुपमा पठनपाठन गर्ने केन्द्रमै पुगेर विष्टले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । स्थानीय २६ जना बालबालिकालाई सन्तोषी बनकरियाले नियमितरुपमा बिहानी कक्षामा पढाउने गरेको छ । लोपोन्मुख समुदायको सशक्तीकरणमा सहयोग गर्दै आउनुभएका विष्टले जन्मदिनमा उनीहरुलाई नै सहयोग गरेर खुसी साट्ने प्रयास गरेको बताउनुभएको छ । विष्टसँगै सेवानिवृत्त शिक्षक देवप्रसाद श्रेष्ठ पनि मुसेधाप पुग्नुभएको थियो । उहाँले पनि बनकरिया बालबालिकाका लागि बालपत्रिकासँगै शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको छ ।
कान्तिपुर दैनिकमा कार्यरत अग्रज पत्रकार प्रताप विष्टले नियमितरुपमा लोपोन्मुख बनकरिया समुदायको पक्षमा समाचार लेख्दै आउनुभएको छ । गत असारको अन्तिम साता विष्टले सिमान्तकृत चेपाङ समुदाय र लोपोन्मुख बनरिया समुदायको विषयमा लेख्नुभएको समाचारहरुको संकलनमा आधारित पुस्तक नै प्रकाशन गर्नुभएको छ ।