सम्मान गर्नुहुँदै ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीस्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । साधारणसभामा गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपालीको पनि आतिथ्य रहेको थियो ।

साधारणसभामा कोषाध्यक्ष सुमित्रा दुलालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्षको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा जागरणले व्यापार र घरजग्गामा मात्रै ५० प्रतिशतभन्दा बढी ऋण लगानी गरिएको छ । १२ करोड ५२ लाख रुपैयाँ कुल कर्जा प्रवाह गरेको जागरणले ३ करोड ७४ लाख रुपैयाँ (२९.२२ प्रतिशत) व्यापारिक ऋण लगानी गरेको छ भने २ करोड ८२ लाख रुपैयाँ (२२.५२ प्रतिशत) घरजग्गा ऋणको रुपमा लगानी भएको छ । जागरणले सबैभन्दा बढी पशुपन्छीपालन कर्जा ४ करोड १६ लाख रुपैयाँ (३३.२६ प्रतिशत) लगानी गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा सहकारीको सेयर पुँजी १ करोड ७९ लाख रहेको छ भने बचत संकलन १३ करोड ७२ लाख रुपैयाँ रहेको छ । सहकारीको सेयर सदस्य ३ हजार २ सय ३० जना रहेको जानकारी दिनुहुँदै अध्यक्ष कल्पना श्रेष्ठले अर्को बर्षदेखि साधारणसभा तीन क्षेत्रमा गरिने जानकारी दिनुभयो । एकसाथ एकै स्थानमा आयोजना गर्दा सबै सेवा क्षेत्रका सेयर सदस्यलाई अनुकुल नभएको र व्यवस्थापनमा समस्या भएको बताउनुभयो । यस्तै सहकारीको कार्यक्षेत्र हेटौंडा उपमहानगरपालिका क्षेत्रमा विस्तार गर्ने गरी विनियम संशोधन गरिने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ ।