हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले साधारणसभाको उद्घाटन गर्नुहुँदै ।

हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित नवयूवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेयर पुँजी ५ प्रतिशतले बढेको छ । शनिबार सम्पन्न १४ औं वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष फूलमान श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ को तुलना ५ प्रतिशतले बढेर सेयर पुँजी ३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष ३ करोड ७६ लाख रुपैयाँ सेयर पुँजी भएको नवयूवाको सेयर पुँजी बढेर आर्थिक वर्ष २०७८/७९ मा ३ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

सहकारीको बचत र खुद नाफा भने घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा २१ करोड ११ लाख रुपैयाँ बचत संकलन गरेको नवयूवाले आर्थिक वर्ष २०७८/७९ मा १८ करोड ८१ लाख रुपैयाँ मात्रै बचत गर्न सफल भयो । सहकारीको खुद नाफा पनि ६४ लाख ४४ हजार रुपैयाँबाट घटेर ५७ लाख ६१ हजार रुपैयाँ भएको छ । सहकारीका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा सहकारीको साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो ।

साधारणसभालाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले सहकारीलाई नीति, विधिअनुसार सञ्चालन गर्न सञ्चालकहरुलाई आग्रह गर्नुभयो । सेयर सदस्यले साधारणसभालाई सहकारीको वस्तुस्थिति बुझ्ने र उपयुक्त योजना ल्याउने अवसरको रुपमा उपयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो । नवयूवाको सेयर सदस्य १ हजार ८ सय ६५ जना पुगेको छ । साधारणसभाको अवसरमा नवयूवाले असल ऋणीमा तुलसी सिवाकोटी, नियमित बचततर्फ सोविता कुमारी अधिकारी, उत्कृष्ट बालबचतमा प्रिन्स अर्याल, एकल महिला बचततर्फ टिका कुमारी पराजुली, ज्येष्ठ नागरिकतर्फ धर्मकुमारी ढुंगाना, पेन्सन बचततर्फ कमली डिम्डुङ र नवयुवा विशेष बचततर्फ प्रल्हाद सापकोटा सम्मानित भएका छन् । यस्तै २०७८ सालको एसईईमा सामुदायिकतर्फ उत्कृष्ट नतीजा हासिल गर्ने सेयर सदस्यको परिवारबाट कृपा चौरेल, संस्थागत विद्यालयतर्फ प्रिन्स बर्तौलालाई सम्मान गरिएको छ ।