हेटौंडाः महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष विष्णुमाया लामाको अध्यक्षता तथा हेटौंडा उपमहानरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा बोल्दै मेयर लामाले अवसरको खोजी गर्दै विपतमा सहकारी व्यवस्थापन रणनीतिक योजना निर्माण गरी संस्थाको उन्नति र प्रगतिका निम्ति लाग्न आग्रह गर्नुभयो । नीति, विधि र प्रविधिमा रही सदस्य सेवामा समर्पित भई स्तरीय सेवासहितको एकमात्र उत्कृष्ट सहकारी संस्था बनाउने उद्देश्यले अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

सहकारीका सम्पूर्ण सदस्यहरूको मन मस्तिष्कमा स्वावलम्बी र समृद्धिको सारथी महिला मिलन साकोस हो भन्ने नारालाई सार्थक बनाउन सक्नुपर्ने उहाँको भनाइ छ । संस्थाका सम्पूर्ण शेयर सदस्यहरूको साथ र सहयोगका साथै महिला मिलन साकोस टिमको लगन र मिहिनेतका कारण लक्ष्य र योजना पूरा गर्न सफल भएको धारणा मेयर लामाले व्यक्त गर्नुभयो ।

आगामी वर्षको वार्षिक योजना पूरा गर्न सम्पूर्ण शेयर सदस्यहरूको नै भूमिका रहने हुँदा संस्थालाई सदैव विश्वास र माया गरी कारोबारमा इमान्दारिता कायम गर्दै सहयोग गर्नुपर्नेमा मेयर लामाले जोड दिनुभयो । सहकारीले पनि शेयर सदस्यहरुको विश्वास र मायालाई आत्मसात गर्दै इमान्दारिताका साथ अघि बढ्नुपर्ने लामाले बताउनुभयो । शेयर सदस्यहरुको उन्नति र प्रगतिका लागि सहकारीको टिम निरन्तर लागिरहने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।

विगतका वर्षहरूमा जस्तै यस साकोसले विभिन्न संघसंस्थाहरूबाट सम्मान र पुरस्कार प्राप्त गर्न सफल भएको बताउँदै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफस्कून) को प्रोबेशन ब्राण्ड र एसियाली ऋण महासंघको गुणस्तर सुनिश्चतता कार्यक्रममा निरन्तर सहभागी भइरहेको उहाँले जानकारी गराउनुभयो ।

गत आर्थिक वर्ष २०७८/०७९ सम्म महिला मिलन बचत तथा ऋण सहकारी संस्थामा ६ हजार ३ सय १६ जना शेयर सदस्य रहेका छन् । ५ करोड ९८ लाख ५६ हजार ६ सय शेयर पुँजी रहेको सहकारीको कुल सम्पत्ति ६३ करोड २९ लाख ७८ हजार ५ सय ३२ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा सहकारीले एक करोड ६० लाख ५५ हजार ७ सय ४२ रुपैयाँ नाफा आर्जन गरेको साधारणसभामा जानकारी गराइएको छ ।