हेटौंडाः हेटौंडा–७, नागस्वतीमा जारी नागस्वती राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताअन्तर्गत् सोमबार ६ खेल सम्पन्न भएका छन् । सोमबार ६ खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
सोमबार भएको पहिलो खेलमा नागस्वती भेट्रान्स (बी) ले वीरगञ्ज भेट्रान्सलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । नागस्वतीले वीरगञ्ज भेट्रान्सलाई ५–० फराकिलो गोल अन्तरले हराएको हो । सोमबार नै भएको अन्य खेलमा जोरपाटी भेट्रान्सले चितवन भेट्रान्सलाई ३–० गोलअन्तरले, हेटौंडा भेट्रान्सलाई बगरभाइ खलक भेट्रान्सले ४–२ गोलअन्तरले हराएको छ ।
यस्तै सोमबार नै भएको खेलमा बगरभाइ खलक भेट्रान्सले थापागाउँ भेट्रान्सलाई ५–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । चाहविल भेट्रान्सले अभिषेक चर्चलाई २–० गोलले र ठमेल चिया पफ भेट्रान्सले आयोजक नागस्वती भेट्रान्स (ए) लाई ३–१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको सेमिफाइनल खेल मंगलबार हुने आयोजक नागस्वती भेट्रान्सका सचिव प्रदीप गौतमले जानकारी दिनुभयो । मंगलबारको पहिलो सेमिफाइनल खेलमा जोरपाटी भेट्रान्सले चाहविल भेट्रान्ससँग खेल्नेछ भने आयोजक नागस्वती भेट्रान्स (बी) ले कोटेश्वर भेट्रान्ससँग सेमिफाइनल खेल खेल्नेछ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।











