बाल विवाह गर्न लागिएको दुबै परिवारलाई राखेर छलफल गर्दै ।

हेटौंडाः बाल हेल्पलाइन मकवानपुरकोे पहलमा मनहरी गाउँपालिकामा बालविवाह रोकिएको छ । बिहीबार मनहरी–४ का १८ वर्षीय बालक र कैलाश गाउँपालिका–७ निवासी १६ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोक्न सफल भएकोे बाल हेल्पलाइन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

बुधबार बालविवाह हुन लागेको सूचना सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइनको टोल फ्री नम्बर १०९८ मा प्राप्त भएको थियो । सूचना पाएपछि बाल हेल्पलाइनले दुबै पक्षका अभिभावक, बाल हेल्पलाइनका प्रतिनिधि र मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर, वडा नम्बर ४ का वडा अध्यक्ष प्रकाश थापा, २ नम्बर वडा अध्यक्ष राजकुमार पाख्रिन, सामाजिक विकास शाखा प्रमुख शैलेश बास्कोटासहितको टिमले हुन लागेको बालविवाह रोक्न सफल भएको ज्ञवालीले बताउनुभयो ।

बालबालिकाका दुबै पक्षलाई बालविवाहका असर तथा परिणाम, कानूनी व्यवस्था, यसबाट पर्ने दीर्घकालीन असरलगायतका विषयमा सचेत बनाएर आगामी दिनमा घटना नदोहोर्याउने प्रतिबद्धता गराइएको मनहरी गाउँपालिका उपाध्यक्ष मगरले बताउनुभयो । बालविवाह हुन नदिन अभिभावकले आफ्नो टोल समाजका मानिसलाई सचेत बनाउनुपर्ने उपाध्यक्ष मगरले बताउनुभयो । मनहरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रकाश थापाले बाल विवाह हुन लागेको बालकले पढ्न इच्छा गरेमा वा सीप सिक्न चाहेमा वडा कार्यालयले सहयोग गर्ने जानकारी दिनुभयो । बालबालिकाले बीस वर्ष पूरा नभई विवाह नगर्ने, अभिभावकले पनि बालबालिकाको निगरानी गर्ने र यस्ता घटना दोहोर्याउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । बालिकालाई थप परामर्शका लागि गाउँपालिकाले बाल हेल्पलाइनको संरक्षणमा पठाएको जनाइएको छ ।

मकवानपुर जिल्लामा एक वर्षमा ५० वटा बालविवाह हुन लागेको जानकारी बाल हेल्पलाइनमा दर्ता भएकोमा ४४ जनाको बालविवाह रोकिएको जनाइएको छ । चालु आर्थिक वर्षको डेढ महिनाभित्र १० वटा बालविवाह बाल हेल्पलाइनमा अभिलेख भएको छ । पछिल्लो समयमा बालविवाह बढ्नुको मुख्य कारणहरुमा अभिभावक र बालबालिकाबीचमा सुमुधुर सम्बन्ध नहुनु, पारिवारिक विचलन हुनु, विविध कारणले विद्यालय छाड्नु, अभिभावकले बालबालिकाहरुलाई मोबाइल उपलब्ध गराउनु, बालबालिकाहरुलाई घरमा नराखी आफन्तकहाँ वा होस्टल वा अन्य कतै राखी पढाउनु, बालबालिकाहरुबीच सानै उमेरमा प्रेम सम्बन्धका नाममा अनैतिक सम्बन्ध स्थापित गर्नुजस्ता कारणहरु रहेको बालहेल्पलाइनमा दर्ता भएका घटनाहरुले देखाएको बाल हेल्पलाइनका प्रबन्धक ज्ञवालीले बताउनुभयो ।