हेटौंडाः मकवानपुर ट्राफिक प्रहरीले एक महिनामा २४ लाख रुपैयाँभन्दा बढी जरिवाना संकलन गरेको छ । चालु आर्थिक वर्षको साउन महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी साधनलाई जरिवाना गरेर २४ लाख ६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको हो ।
साउन महिनामा ट्राफिक प्रहरीले ३ हजार २ सय ५० वटा सवारी साधनलाई कारबाही गरेको छ । साउन महिनामा ७ सय ६४ वटा ट्रक/ट्याङ्कर/टिपरलाई कारबाही गरेर ६ लाख ९१ हजार रुपैयाँ जरिवाना संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । यस्तै, ४ सय ७८ वटा बसलाई कारबाही गरेर ३ लाख ५६ हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले ६ सय ४२ वटा जीप/कारलाई कारबाही गरेर ४ लाख ३३ हजार ५ सय रुपैयाँ जरिवाना संकलन गर्दा ७ सय ८० मोटरसाइकललाई कारबाही गरेर ५ लाख २२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै, ९१ वटा ट्याक्टरलाई कारबाही गरेर ७२ हजार रुपैयाँ र ४ सय ९५ वटा अटो/ट्याम्पो/मयूरीलाई कारबाही गरी ३ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।
मकवानपुर ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०७८/७९ मा ३० हजार ३ सय २७ सवारी साधनलाई कारबाही गरेर २ करोड ३६ लाख ९० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै, अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २९ हजारभन्दा बढी सवारी साधनलाई कारबाही गरेर २ करोड ४५ लाख ८८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको तथ्याङ्कमा उल्लेख छ ।