हेटौंडाः हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको सिद्धार्थ पेलेट फिड प्रालिलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको अनुगमनमा सिद्धार्थ पेलेट फिड प्रालिले आर्थिक वर्ष २०७७/०७८ देखि अनुज्ञापत्र नवीकरण नगरेको पाइएपछि जारिवाना गरेको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभएको छ ।
अनुगमनका क्रममा सिद्धार्थ पेलेट फिड उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा लेबलिङ नरहेको र सरसफाईको अभावजस्ता समस्या देखिएकाले उद्योगलाई जरिवाना गरी सुधार गर्न निर्देशन दिइएको गैह्रेले जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न ६ वटा उद्योगहरूको अनुगमन गरिएको बताउनुभयो ।
अन्य उद्योगहरूमा देखिएका सामान्य समस्या तत्काल सुधार गर्न निर्देशन दिइएको र भ्याली पेलेट फिड प्रालि र सिद्धार्थ पेलेट फिड प्रालिबाट परीक्षणका लागि दानाको ४/४ वटा नमूना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरमा पठाइएको गैह्रेले जानकारी दिनुभयो ।
अनुगमनमा हेटौंडा उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता मञ्च, मकवानपुर उद्योग वाणिज्य संघ तथा नेपाल पत्रकार महासंघ र मकवानपुरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।