हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकृत समाजवादीले मकवानपुरको क्षेत्र नम्बर २ बाट विरोध खतिवडालाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ कमिटीको शनिबार बसेको बैठकले खतिवडालाई उम्मेदवार बनाउन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।
भदौ १० गते बस्ने पार्टी जिल्ला कमिटीको बैठकले खतिवडाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णु दाहालले जानकारी दिनुभएको छ । लगातार चार पटक चुनाव उठेर जितेका खतिवडालाई फेरि पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवार बनाउने निर्णय भएको हो । खतिवडा २०४८, २०५१, २०५६ र २०७४ सालमा भएको निर्वाचनमा विजयी हुनुभएको थियो ।
यस्तै, समानुपातिकमा केदार न्यौपाने, राजाराम स्याङ्तान र मुनु सिग्देलको नाम सिफारिस गर्ने निर्णय गरेको छ भने राष्ट्रियसभामा ललित बस्नेतको नाम सिफारिस गर्ने निर्णय भएको पार्टीले जनाएको छ । शनिबारै बसेको प्रतिनिधिसभा २ को प्रदेश ‘क’ र ‘ख’ का लागि पनि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रदेश ‘क’ को अध्यक्ष किरणमान बलको अध्यक्षतामा बसेको बैठकले ‘क’ मा रामचन्द्र बललाई प्रत्यक्ष र समानुपातिकमै उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै, समानुपातिकमा बेगम बरालको नाम सिफारिस गर्ने निर्णय गरिएको छ । क्षेत्र नम्बर २ को प्रदेशसभाको ‘ख’ का अध्यक्ष टंक मोक्तानको अध्यक्षतामा बैठक बसेको हो । यस्तै, प्रदेशसभा ‘ख’ मा प्रत्यक्षमा भुमिनन्द अर्याल, समानुपातिकमा गोविन्दराम चेपाङ, कृष्णबहादुर चेपाङ, सूर्यमान चेपाङ (कर्ण) र मनिला विष्टको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
चुनावमा पार्टीबाट उम्मेदवार हुनेको नाम यही १० भदौभित्र सिफारिस गर्नुपर्ने एकीकृत समाजवादीको केन्द्रीय सर्कुलर अनुसार मकवानपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभाका लागि एक महिला सदस्यसहित पाँच र प्रदेशसभामा एक महिलासहित चारजनाको नाम सिफारिस गर्नुपर्ने सर्कुलर अनुसार पार्टीको बैठकले निर्णय गरेको बताइएको छ ।
बैठकमा पार्टीका नेताहरु विरोध खतिवडा, बागमती प्रदेश सदस्य रामचन्द्र बल, ललित बस्नेत, सूर्यचन्द्र न्यौपाने लगायतको उपस्थिति थियो । यस्तै, बैठकले पार्टीको बागमती प्रदेश सदस्य कल्याणविक्रम घलानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।