रक्तचाप परीक्षण गरिँदै ।

हेटौंडाः नेपाल हृदयरोग निवारण प्रतिष्ठान र नेपाल नर्सिङ संघको सहयोगमा हेटौंडा–४, हरियाली टोलका स्थानीयको रक्तचाप परीक्षण गरिएको छ । साउनदेखि मासिक रुपमा रक्तचाप परीक्षण गर्ने कार्य सुरु गरिएको हो ।

रक्तचाप परीक्षण गर्नुका साथै रक्तचापसम्बन्धी स्वास्थ्य समस्याबारे सचेतना अभिवृद्धि गर्न मासिक परीक्षण शिविरको आयोजना गरिएको नेपाल हृदयरोग निवारण संस्था मकवानपुरका उपसभापति ध्रुब भुजेलले जानकारी दिनुभयो । रक्तचाप परीक्षणसँगै आगामी दिनमा मधुमेह परीक्षण तथा परामर्श सेवा पनि प्रदान गरिने भुजेलले जानकारी दिनुभयो ।

नेपाल नर्सिङ संघ मकवानपुरकी उपाध्यक्ष गंगा दाहालले रक्तचाप परीक्षण गर्नुभएको थियो । टोल विकास संस्थाका अध्यक्ष राजु अर्यालको समेत उपस्थितिमा भएको शिविरमा ३२ जनाले रक्तचाप परीक्षण गराएका छन् । पहिलो महिना ५२ जनाले रक्तचाप परीक्षण गराएका थिए । दोस्रो महिना रक्तचाप परीक्षण गराउने ३२ जना मध्ये १८ जनाले पहिलो पटक परीक्षण गराएका हुन् ।