कार्यक्रममा बोल्नुहुँदै नेता राणा ।

हेटौंडाः नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले नेकपा एमाले मुलुकमा शान्ति र स्थिरताको पक्षमा रहेको बताउनु भएको छ । ४५ दिने पार्टी संगठन सुदृढीकरण तथा शुद्विकरण अभियानको सन्दर्भमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ द्वारा आयोजित वडास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

नेता रानाले माओवादी, विप्लव, सिके राउतलगायतको समूहलाई राजनीतिको मूलप्रवाह ल्याई मुलुकमा शान्तिपूर्ण वातावरण निर्माण गर्न एमालले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । लोकतन्त्रको सुदृढीकरणको लागि जनताको जीवनस्तरमा परिवर्तन हुनुपर्ने भन्दै गणतन्त्रको अनुभूति गरिब परिवारको घरघरमा हुनपर्ने बताउनुभयो । आगामी मंसिरमा हुने संसदीय निर्वाचनमा गठबन्धनबाट राजनीति स्थिरता कायम हुन नसक्ने र स्थिरता विना विकास र समृद्वि सम्भव नहुने भएकोले जनताको छनौट नेकपा एमाले हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । एमालेले बहुमत प्राप्त गर्दा राजनीति शान्ति, स्थिरता, विकास र समृद्विको जनताको सपना पुरा हुने उहाँले दाबी गर्नुभयो ।जिल्ला कमिटी सचिव नवीन सिग्देल, उपमहानगरपालिका कमिटीका सचिव बोलबहादुर कार्कीले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।

नेकपा एमाले वडा नम्बर १७ का पार्टी अध्यक्ष लक्ष्मण खुलालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश सदस्य कमल बिष्ट, देवराज रिमाल, जिल्ला सदस्य शंकर राईलगायतको उपस्थिति रहेको थियो ।