हेटौंडाः हेटौंडा–१० स्थित बसपार्क क्षेत्रमा आज शनिबार सरसफाइ गरिएको छ । “सफा हेटौंडा अभियान” अन्तर्गत सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा–१० बसपार्क र होटल एशोसियसन मकवानपुरको संयुक्त आयोजनामा बसपार्क क्षेत्रमा सरसफाइ गरिएको हो ।
बसपार्क क्षेत्रमा अत्याधिक फोहोर, धुलो, हिलो भएको र सर्वसाधारणलाई आवतजावतमा समस्या नहोस् भन्ने उद्देश्यले सरसफाइ कार्यक्रमको आयोजना गरिएको होटल एशोसियसन मकवानपुरका उपाध्यक्ष कल्याण पौडेलले जानकारी दिनुभयो । अहिले बसपार्क क्षेत्रमा यात्रुहरुलाई चिया नास्ताको अनुमति दिईएको पसलहरुमा मदिराजन्य पदार्थ बढी बिक्री वितरण भइरहेको पाइएकोले व्यवसायीहरुलाई सचेत समेत गराईएको उहाँले बताउनुभयो । यस्तै बसपार्क क्षेत्रमा होटल, पसलबाट निस्कने फोहोर जथाभावी नफाल्न सचेतना गरिएको पौडेलले बताउनुभयो ।
सरसफाइ कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा–१० बसपार्कका अध्यक्ष प्रदीप कँडेल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी र व्यवसायीहरुको सहभागिता रहेको थियो ।