लागुऔषधसहित पक्राउ परेका रंजित र सोनारलाई प्रहरीले सार्वजनिक गर्दै ।

हेटौंडाः मकवानपुर प्रहरीले ठुलो परिमाणमा लागुऔषध नाईट्रोभेट र डाईजेपामसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला बिराटनगर महानगरपालिका १५ घर भई हाल वीरगंज बस्ने २२ वर्षीय रंजित शर्मा र वीरगंज बस्ने जटाशंकर सोनार रहेको प्रहरीले जनाएको छ ।


बिहिबार बिहान पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटे चेकपोष्टमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरीले वीरगंजबाट हेटौडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्बरकोे यात्रुबाहक बसलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा बसमा सवार रंजितले ल्याएको २० किलोको चामलको बोरा खोली सुरक्षाजाँच गर्दा बोराभित्र लुकाई छिपाई ल्याएको अबस्थामा लागु औषध डाईजेपाम ३ सय १० एम्पुल, फेनरागन ३ सय १० एम्पुल, नुफिन ३ सय १० एम्पुल गरी जम्मा ९ सय ३० एम्पुल र नाईट्राभेट ६ सय ट्याबलेट फेला परेको प्रहरीले जनाएको छ ।

लागुऔषधको बारेमा प्रहरीले सोधपुछ गर्दा सोनारले पठाएको र आफु सवार बसभन्दा अगाडी ना २६ प ७९८० नम्बरको मोटरसाइकलमा चितवनतर्फ गएको रंजितले बताएको थियो । रंजितलाई साथमा लिई चितवनतर्फ जादै गर्दा लोथरस्थित सडक किनारमा बसिरेको अबस्थामा फेला पारी लागुऔषध र मोटरसाइकल सहित सोनारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागुपदार्थ सहित रंजित र जटाशंकरलाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।