हेटौंडाः नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्ने कार्यक्रम अन्तर्गत मकवानपुरमा भोलि बुधबारदेखि खेलाडी छनौट गरिने भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहालले भदौ १ गतेदेखि १० गतेसम्म जिल्लामा खेलाडी छनौट गरिने बताउनुभयो ।
बुधबारबाट हुने खेलाडी छनौटमा ८ विधाका खेलाडी छनौट गरिनेछ । कबड्डी, कराँते, उसु, जुडो, बुद्धिचाल, टेबलटेनिस, बास्केटबल र आइटीएफ तेक्वान्दो खेलका खेलाडी छनौट गरिनेछ । फुटबल, भलिबल र अन्य खेलहरु राष्ट्रपति रनिङशिल्ड प्रतियोगतामा छनौट भएकालाई प्रदेशले सिधै छनौट गरिने जनाइएको छ । खेलाडी छनौटका लागि अहिले फाराम भर्न आह्वान गरिएको र फाराम भर्ने कार्य भइरहेको प्रमुख दाहालले बताउनुभयो ।
बागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने प्रदेशका खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेसँगै जिल्ला छनौट गर्न लागेको दाहालले बताउनुभयो । नवौं राष्ट्रिय प्रतियोगितामा ३६ खेलमा खेलाडीले प्रतिस्पर्धा गर्नेछ । मकवानपुर जिल्लाबाट ३ सय ९९ खेलाडी प्रदेशस्तरीय छनोटमा सहभागी हुन पाउने छन् ।