कुमारी मोक्तान ।

हेटौंडाः बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सामाजिक सूचना व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने बताउनुभएको छ । सूचना व्यवस्थापन प्रणालीले सामाजिक विकृति, विसंगति अन्त्य गर्न महत्वपूर्ण भुमिका खेल्ने भएकाले चाँडै लागू गर्नुपर्ने उहाँको भनाई छ ।

आज मंगलबार हेटौंडामा सामाजिक सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गर्दै उहाँले बैदेशिक रोजगारका नाममा भईरहेको बेचविखन जस्ता आपराधिक कार्य रोकथाममा पनि प्रणालीले सहयोग गर्ने बताउनुभयो । ‘मानव बेचविखनसँगै महिला, बालबालिका लगायतको एकिन तथ्यांक नहुँदा बजेट निर्माण र कार्यान्वयनमा समस्या भईरहेको छ,’ उहाँले भन्नुभयो, ‘सामाजिक, आर्थिक विकास गर्नका लागि पनि सूचना प्रणाली छिटो लागू गर्नुपर्छ ।’ असहाय बालबालिकाको एकीन तथ्यांक नहुँदा धेरै समस्या भएको भन्दै उहाँले त्यस्ता बालबालिकाका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको जिकिर गर्नुभयो । तथ्यांक संकलनमा स्थानीय तहहरुको महत्वपूर्ण भुमिका रहेको भन्दै यसकार्यमा एकद्वार प्रणाली उचित हुने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशकी कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री ईन्द्रमाया गुरुङले सामाजिक सूचना प्रणाली सम्बन्धी कार्य महत्वपूर्ण रहेको भन्दै सूचना संकलन, व्यवस्थापन, पहुँच र परिमार्जनका लागि तीनै तहको सरकारले विशेष भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव भरतराज शर्माले सामाजिक सूचना व्यवस्थापन प्रणालीको परिचय, महत्व, उद्देश्य, सूचकहरू, निर्माण प्रकृया, प्रगति अवस्था, अपेक्षाबारे जानकारी गराउनु भएको थियो ।

मानव बेचविखनलाई प्रमुख प्राथमिकता दिएर तथ्यांक संकलन गरिने सामाजिक सूचना व्यवस्थापन प्रणालीमा हिंसा पिडित, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएकाहरुको पनि संकलन गरिने जनाईएको छ । शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीको अध्यक्षतामा भएको दुई दिने कार्यक्रममा मकवानपुर, काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकका गाउँपालिका तथा नगरपालिकाहरुका कर्मचारीहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा, सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकाका अध्यक्ष टासी लामा, सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखाका प्रमुख गोपाल प्रसाद कँडेल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, वीनरक ईन्टरनेशनल ‘हाम्रो सम्मान परियोजना’का रत्नकाजी श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।