निर्माण सम्पन्न वन विज्ञान संकायको भवन । तस्वीरः बिनोद बानियाँ/समृद्ध समाज ।

हेटौंडाः कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) अन्तर्गत वन विज्ञान संकाय हेटौंडाको नयाँ भवन तयार भएको छ । निर्माण सम्पन्न नयाँ भवनमा कार्यालय सार्नु अघि बिहीबार पूजा गरिएको छ । निर्माण सुरु गरिएको ३ वर्षमा भवन निर्माण भएको हो । २० कोठे ५ तल्ले भवनमा पुस्तकालय, कम्प्युटर प्रयोगशाला, प्रशासन, कक्षा कोठा रहेको छ ।

१३ वर्षअघि विश्वविद्यालय स्थापना भएर साढे छ वर्षअघि वनविज्ञान संकाय डीन कार्यालय सञ्चालनमा आएपछि पहिलो पटक यत्ति ठूलो संरचना निर्माण भएको हो । भवनको अभावमा स्नात्तक तथा स्नात्तकोत्तर तहको अध्ययन बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा सञ्चालित छ । सरकारले विश्वविद्यालय स्थापना गरे पनि भौतिक संरचनाको अभावमा लामो समयदेखि वनविज्ञान संकाय कष्टकर अवस्थामा सञ्चालित छ । अहिले पनि वनविज्ञान संकायको प्रशासनिक शाखाहरु त्रिभूवन विश्वविद्यालयको वनविज्ञान संकायअन्तर्गत हेटौंडास्थित क्याम्पसको भवनमा आड लिएर बस्न बाध्य छ ।

नयाँ भवन तयार भएसँगै वन विज्ञान संकायको डीन कार्यालयको नियमित प्रशासनिक कार्य र स्नातक तथा स्नात्तकोत्तर तहको पठनपाठनको कार्य सहज हुने डीन प्रा.डा. बलराम भट्ट बताउनुहुन्छ । कोभिड–१९ को महामारी लगायत केही प्राविधिक कारणले निर्धारित समयभन्दा केही ढिलो भए पनि एउटा महत्वपूर्ण संरचना निर्माण भएको प्रा.डा. भट्टको भनाइ छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयअन्तर्गतको वनविज्ञान संकायको स्नातक तहमा वार्षिक १ सय ९० जना विद्यार्थीले अध्ययनको अवसर पाइरहेका छन् भने स्नात्तकोत्तर तहमा ४० जना विद्यार्थीले अध्ययनको अवसर पाइरहेका छन् । अहिले ४ जनाले विद्यावारिधीको शोधकार्य गरिरहेको प्रा.डा. भट्टले जानकारी दिनुभयो ।

बानियाँ निर्माण सेवाले भवन निर्माणको कार्य गरेको हो । करिब १३ करोड लागत अनुमानसहित टेण्डर आव्हान गरिएकोमा बानियाँ निर्माण सेवा योग्य प्रस्तावकको रुपमा छनोट भएको थियो । बानियाँले ९ करोड ८९ लाख रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएपछि चितवन जिल्लाको रामपुरस्थित विश्वविद्यालय परिसरमा ३६ करोडको लागतमा भवन बनेको उल्लेख गर्नुहुँदै त्यसपछि यो अर्को ठूलो र महत्वपूर्ण निर्माण कार्य भएको हो ।