हेटौंडा– टोल विकास संस्थाको समन्वयमा हेटौंडा उपमहानगरपालिकाले सुरु गरेको ‘सफा हेटौंडा अभियान’ मा फलफुलका बिरुवाहरु रोपिएका छन् । हेटौंडा उपमहानगरपालिकाको समन्वयमा वनस्पती उद्यानबाट लगिएका ६० वटा विभिन्न जातका फलफुलको बिरुवा हेटौंडा–७ न्युरेनीस्थित पशुपती मन्दिर परिसरमा रोपिएको हो ।
अभियान अनुसार शनिबार हेटौंडा–७ न्युरेनीमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, हेटौंडा–७ का वडा अध्यक्ष दामोदर गौतम, हेटौंडा १० का वडा अध्यक्ष तथा वातावरण समितिका संयोजक फुर्वा दोर्जे लामासहित वडा सदस्य र टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागितामा वृक्षरोपण गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले नगरको सुन्दरतालाई बढाउँदै लैजाने र आउने आगन्तुकहरुका लागि सुन्दर उपमहानगर देखाउने उद्देश्यले अभियानको घोषणा गरिएको बताउनुभयो । हेटौंडाको हुप्रचौरबाट सुरु भएको अभियानलाई उपमहानगरको हरेक टोल विकास संस्थामार्फत नगरका वडा र टोलसम्म पु¥याइएको विपद् प्रतिकार्य फोहरमैला व्यवस्थापन तथा वातावरण शाखा प्रमुख शान्ति बिकले जानकारी दिनुभयो । हेटौंडाका १९ वटा वडामा ३४६ वटा टोलविकास संस्था छन् ।