मकवानपुर जिल्लाको एकमात्र सरकारी अस्पतालको रुपमा रहेको हेटौंडा अस्पतालको सेवा सुविधा वृद्धि हुँदै गएको छ । कुनै समय सामान्य स्वास्थ्य सेवासमेत पाउन मुस्किल हुने गरेको हेटौंडा अस्पतालमा अहिले अधिकांश विशेषज्ञ सेवाहरु उपलब्ध छन् । संघीय सरकार तथा बागमती प्रदेश सरकारले अस्पतालको सेवा सुविधा तथा भौतिक पूर्वाधार विकासमा लगानी बढाएसँगै अस्पतालको सेवा सुविधा वृद्धि हुँदै गएको हो । अहिले हेटौंडा अस्पतालको नयाँ भवन सञ्चालनको तयारी भइरहँदा अस्पतालको सेवाले थप प्रभावकारिता तथा चुस्तता पाउने अपेक्षा गरिएको छ । अहिले अस्पतालमा उपलब्ध सेवा, सुविधाअनुसार पर्याप्त भौतिक पूर्वाधार नहुँदा अस्पतालको सेवा प्रवाहमा भद्रगोलको अवस्था रहेको भए पनि नयाँ भवनबाट सेवा सुरु भएपछि अस्पतालले दिने सेवा प्रवाह पक्कै व्यवस्थित हुनेछ ।
हेटौंडा अस्पताल स्थापना भएको करिब ६ दशक भएको छ । यस अवधिमा अस्पतालको विकास र विस्तारका लागि विभिन्न निर्णयहरु गरिएको भए पनि कार्यान्वयन हुन सकेको थिएन । जिल्ला अस्पतालको रुपमा रहेको हेटौंडा अस्पताललाई कुनै बेला मध्यमाञ्चल विकास क्षेत्रको क्षेत्रीय अस्पतालको रुपमा नामाकरणसमेत गरिएको थियो । क्षेत्रीय अस्पताल बनाउने तत्कालीन सरकारको निर्णयबमोजिम अस्पतालमा बोर्ड झुण्ड्याउनेबाहेक अरु केही काम हुन सकेन । यस्तै, हेटौंडा अस्पताललाई ३ सय शैयामा विस्तार गर्ने निर्णय पनि कार्यान्वयनमा आएन । पछिल्लो समय मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याइएको हेटौंडा अस्पताललाई पुनः प्रतिष्ठानबाट अलग गराउने प्रयास भइरहेको छ ।
अस्पतालको सेवा वृद्धि र विकासका लागि विगतमा जेजस्ता निर्णय र कार्य भएको भए पनि अहिले हेटौंडा अस्पतालको सुविधासम्पन्न भवन निर्माण अन्तिम चरणमा पुगेको छ । करिब ३० करोड रुपैयाँको लागतमा निर्माण भएको भवनबाट अस्पतालले प्रदान गर्दै आएका सम्पूर्ण सेवाका साथै थप सेवा प्रवाह सहज हुने अस्पताल प्रशासनको भनाई छ । यही साउन महिनाभित्रै अस्पताललाई भवन हस्तान्तरण गर्ने तयारी भइरहेको अवस्थामा अस्पतालले पनि नयाँ भवनबाट आकस्मिक सेवा, काउन्टर र फार्मेसी तत्काल सञ्चालनका लागि आवश्यक तयारी गरिरहेको छ । नवनिर्मित भवनमा ७० बेड सञ्चालन गर्न मिल्ने बताइएको छ । अहिले प्रयोग भइरहेको भवनसमेत गरेर हेटौंडा अस्पताल अब २ सय बेडको अस्पतालमा विस्तार हुनेछ । संघीय सरकारले ५० बेड क्षमताको जिल्ला अस्पतालको रुपमा सेवा प्रदान गर्न स्वीकृति दिएको हेटौंडा अस्पतालले अहिले अस्पताल विकास समितिमातहतमा थप ५० बेड सञ्चालन गर्दै आएको छ । नयाँ भवन पूर्णरुपमा सञ्चालनमा आउँदा २ सय बेडमा सेवा सञ्चालन गर्न सकिने बताइएको छ ।
विगमा धेरै वर्ष “रिफर अस्पताल”को रुपमा परिचित बनेको हेटौंडा अस्पतालले अहिले आफ्नो पहिचान बदल्दै गएको छ । अस्पतालको स्तरवृद्धिका लागि संघ तथा प्रदेश सरकारको बजेट लगानी एवम् जनदवावपछि अस्पतालबाट प्रवाहित हुने सेवा सुविधा विस्तार र सहज बन्दै गएको छ । पुरानो भवनबाट सहज सेवाप्रवाह हुन नसकिरहेको अवस्थामा अब नयाँ भवन सञ्चालनमा आएपछि अस्पतालको सेवाप्रवाहमा कुनै गुनासो आउन दिनु हुँदैन । विशेषज्ञ चिकित्सकसहितका सबै प्रकारका रोगहरुको परीक्षण र उपचार हेटौंडामै पाउने सुविधा दिन अस्पताल व्यवस्थापन गम्भीर बन्नैपर्छ । अब पनि अस्पतालबाट बिरामीको उपचार गर्न नसकेर रिफर गर्नु हुँदैन । अर्कोतिर सेवाग्राहीको गुनासो आउन नदिनेतर्फ पनि अस्पताल प्रशासन चनाखो बन्नु आवश्यक छ ।