हेटौंडालाई सुन्दर र सफा बनाउन ‘सफा हेटौंडा अभियान’ घोषणा गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले ‘सफा हेटौंडा अभियान’ घोषणा गरेकी हुन् । अभियान हेटौंडाको प्रतिष्ठासँग जोडिएको छ । नागरिक स्वास्थ्य र सचेतनाको अभियान पनि हो । विभिन्न समयमा हरित हेटौंडाको नामले चर्चामा रहिरहेको शहरलाई थप सौन्दर्यता अभिवृद्धि गर्न अभियानको घोषणा गरिएको बताइएको छ । असल कामका लागि सबैको साथ र सहयोग आवश्यक छ । अभियान सुरु गर्न सर्वपक्षीय सहमति देखिएको छ । घोषणा गर्नु पहिला पालिकामै सार्वपक्षीय छलफलले अभियानमा सहमति जनाएको हो । अभियानलाई सफल बनाउनु आम हेटौंडाबासीको जिम्मेवारी पनि हो । पालिकाको अभियान हैन कि नागरिक अभियान हो ।

विगतदेखि नै हेटौंडा सुन्दर र सफा शहरका रुपमा परिचित हुँदै आएको छ । यो परिचयलाई थप उजिल्याउने काम सफा अभियानले गर्न सक्नुपर्दछ । सफा नारा हैन, यो त व्यवहार हो । सफा शब्द आम नागरिकको जीवनशैली र संस्कारसँग जोडिने गर्दछ । मानिस कति सभ्य छ भन्ने प्रमाण उसको सफाई कर्मबाट देखिन्छ । पूर्ण शिक्षित समाजमा शहर सफा बनाउन अभियान नै आवश्यक हुँदैन । तर नेपालका विभिन्न शहरहरुमा सफाई अभियान सञ्चालन भइरहेका छन् । त्यही नारा कार्यान्वयन गर्ने क्रममा हेटौंडामा पनि अभियान सञ्चालन गर्नु परेको छ । नगरको सौन्दर्यता बढाउनका लागि हरेक शनिबार नगरका विभिन्न वडाहरुमा अभियानलाई लैजाने कार्यतालिका छ ।

अभियानअन्तर्गत् सरसफाई, पार्क निर्माण, वृक्षरोपणलगायका कामहरु गरिने भएको छ । केही हप्ता वा केही महिनाले हेटौंडा सफल हुन सक्दैन । अझ स्थानीय तहको प्रयासमात्र पर्याप्त हुँदैन । यस्ता अभियान त्यतिबेलामात्र सफल हुनेछन्, जतिबेला आम नागरिकको सक्रिय सहभागिता हुनेछ । सफा अभियान घोषणाकर्ताको मात्र हैन । राज्यका निकाय र स्थानीय तहबाट अभियान नचलाए पनि आफ्नो टोल बस्ती सफा राख्ने जिम्मेवारी स्थानीय नागरिककै हो । अभियान होस्टेमा हैंसेमात्र हो । हेटौंडा सफा हुनका लागि आम नागरिक सफा हुनै पर्दछ । घरभित्र फोहर राखेर सडक सफा बनाउँदैमा अभियान सफल हुन सक्दैन । घर, आँगन, टोल, बस्ती, वडा सफा भएमा पालिका आफैं सफा र सुन्दर हुनेछ ।

अभियानअनुसार हेटौंडा उपमहानगरपालिका ४ मा रहेको हुप्रचौरबाट सफाई सुरुवात हुँदै नगरका सबै वडाहरुमा अध्यक्षको नेतृत्व र टोल विकास संस्थाको सक्रियतामा अभियानमा हप्ताको २ घण्टा श्रमदान गर्न आह्वान पनि छ । नागरिक सहभागिताले जस्तोसुकै कठिन काम पनि सहज हुन्छ । अभियान सुन्दर हुँदै गर्दा व्यवस्थापन चुनौतीपूर्ण छ । अभियानको सुरुवात हुप्रचौरबाट हुनुले लामो समयदेखि भद्रगोल भएको खेलमैदानको रुप परिवर्तनको आशा गर्न सकिन्छ । सफा अभियान सुरु गर्न सजिलै होला, तर यसलाई निरन्तरता दिन कठिन छ । ठूलो र राम्रो कामको सुरुवात गर्दा सचिवालयबाट हैन सञ्चारकर्मीमाझ गर्नु पर्दछ । आम नागरिकका बीचमा अभियान घोषणा र कार्यान्वयन हुनु पर्दछ ।