सांकेतिक तस्वीर ।

हेटौंडाः राष्ट्रपति रनिङशिल्ड विद्यालय खेलकुदको जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन हेटौंडा आएको मकवानपुरको कैलाश गाउँपालिका–९, नामटारस्थित कालिका माविका विद्यार्थीमाथि बलात्कारको घटना भएको छ । असार १८ र १९ गते हेटौंडामा भएको जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन आएकी एक छात्रामाथि बलात्कार भएको हो ।

बलात्कारको घटना भएको भन्ने जानकारीपछि विद्यालयले व्यवस्थापन समितिलाई जानकारी गराएर छलफलका लागि बोलाएको प्रधानाध्यापक रामप्रसाद कालाखेतीले जानकारी दिनुभएको छ । ‘प्रतियोगितामा सहभागी हुन हेटौंडाका गएका ३ जना विद्यार्थी बसेको कोठामा राती अपरिचित व्यक्ति आएको भन्ने गुनासो आएको छ’, प्रधानाध्यापक कालाखेतीले समृद्ध समाजसँग भन्नुभयो, ‘मैले व्यवस्थापन समितिका पदाधिकारीलाई जानकारी गराएर छलफलका लागि बोलाएको छु ।’

यता प्रहरीले भने बलात्कारको घटनाबारे कुनै जानकारी नआएको स्पष्ट पार्नुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले बलात्कारको घटनाबारे कुनै किसिमको उजरी वा निवेदन प्राप्त नभएको जानकारी दिनुभयो । बलात्कारको घटनामा संलग्न स्थानीय जनप्रतिनिधि भएको बुझिएको छ । जनप्रतिनिधि भएकोले घटनालाई रोक्न दवाव दिइरहेको पनि बुझिएको छ ।