हेटौंडाः तामाङ प्राज्ञसभा नेपालमा पुनः श्यामप्रसाद लामा सर्वसम्मत चयन हुनुभएको छ । शनिबार हेटौंडामा भएको तामाङ प्राज्ञ सभाको १५आंै साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनबाट श्यामप्रसाद पुनः अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
उपाध्यक्षमा ईन्जिनियर सन्तोष कुमार लामा, महासचिवमा डा. धन बहादुर मोक्तान, सचिवमा सरस्वती लामा, कोषाध्यक्षमा कुमारी वाईबा सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यहरुमा अक्कल सिं भ्लोन, प्रेमबहादुर बम्जन, ज्ञानबहादुर लामा, सुरेन्द्र योञ्जन, माया लामा, निशा लामा, पुर्ण भ्लोन, मन लामा, निर्मला भ्लोन र तारालाल घिसिङ सर्वसम्मत चयन भएका छन् । यस्तै सल्लाहकारहरुमा डा. गणेशबहादुर बल, चतुरमान लामा र बुद्धशरण लामा रहेका छन् । श्याम प्रसाद लामाको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन भएको भएको छ । जसमा थप अन्य सदस्यहरु कार्यसमितिको पहिलो बैठकले चयन गर्ने भएको छ ।
सभाका अध्यक्ष श्याम प्रसाद लामाको सभाध्यक्ष तथा सामाजिक अभियान्ता चतुरमान लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । अध्यक्ष लामाले स्थानीय सरकारले तामाङ म्युजियम खोल्न लागेकोमा आपत्ति जनाउनुभएको छ । संस्कृति जगेर्नाको नाममा मादल र डम्फु संरक्षणका लागि मात्र म्युजियम सञ्चालन गर्न लागिएको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो । तामाङहरुको संस्थाको लागि अहिलेसम्म भवन बन्न नसकेको अवस्थामा देखावटी कामका लागि स्थानीय सरकारले यस्तो कदम चालेको उहाँको आरोप छ ।











