हेटौंडाः आँचल साहित्य कला पुञ्ज मकवानपुरले दश जना स्रष्टालाई सम्मान गर्ने भएको छ । साहित्यका विभिन्न विधा, कला, खेल, पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरुलाई सम्मान गरिने भएको हो । कोभिड–१९ का कारण २०७८ सालमा प्रदान गर्नुपर्ने सम्मान तथा पुरस्कार यसवर्ष प्रदान गर्न लागिएको आँचलकी अध्यक्ष अनिता न्यौपानेले जानकारी दिनुभयो । साहित्य, कला, खेलकुद तथा पत्रकारितालगायतका क्षेत्रमा योगदान दिएर त्यस क्षेत्रको पहिचानलाई अझ उचाइमा लैजाने स्रष्टाहरुलाई एकसाथ सम्मान गर्न लागिएको उहाँले बताउनुभयो ।

आँचल साहित्य कला पुञ्जको चौथो अधिवेशनको अवसरमा मकवानपुरसहित अन्य जिल्लाका स्रष्टालाई हेटौंडामा सम्मान गर्न लागिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । आगामी शनिबार हुने अधिवेशनमा स्रष्टाहरुलाई सम्मान गरिने आँचलकी सचिव भावना सापकोटाले जानकारी दिनुभयो । बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान २०७८ साहित्यकार तीर्थादेवी सिलवाललाई प्रदान गरिने भएको छ । सिलवाललाई नगद १०,००१ राशि र सम्मानपत्रसहित सम्मानित गर्ने आँचलले जानकारी दिएको छ । प्रतिभा धिताल छन्द पुरस्कार–२०७८ का लागि झापामा जन्मनुभएकी साहित्यकार भुषिता बशिष्ठलाई प्रदान गर्ने निर्णय भएको छ । १०,००१ राशिको यो पुरस्कार २०७५ सालमा स्थापना भएको हो । ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान मकवानपुरका पत्रकार कृष्णराम परियारलाई प्रदान गर्ने निर्णय भएको छ । परियारलाई ७,७७७ रुपैयाँसहित सम्मान गरिने भएको हो ।

टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार २०७८ देवराज खरेललाई प्रदान गर्ने निर्णय भएको छ । ११,१११ रुपैयाँ राशि र सम्मानपत्रसहितको पुरस्कारका लागि १ लाख ५० हजारको अक्षयकोष स्थापना गरिएको छ । अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७८ चितवनकी कवि सरिता तिवारीलाई प्रदान गर्ने निर्णय भएको छ । १ लाख ९० हजार रुपैयाँको अक्षयकोषको प्राप्त व्याजबाट प्रत्येक वर्ष साहित्यको क्षेत्रमा विशेष योगदान पुर्याउनुहुने व्यक्तिलाई १५,००१ रुपैयाँसहित प्रदान गरिने यो सम्मान यसै वर्षदेखि प्रदान गर्न लागिएको हो ।

सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०७८ छवि अनित्यलाई प्रदान गर्ने निर्णय भएको छ । प्रत्येक वर्ष साहित्यको क्षेत्रमा विशेष योगदान पुर्याउनुहुने व्यक्तिलाई १०,००१ नगदसहित दिइने यो सम्मान पहिलो पटक सुवास खनाललाई प्रदान गरिएको थियो । मुक्ति–तारा नवप्रतिभा सम्मान २०७८ नवसर्जक साहित्य चौतारीकी केन्द्रीय अध्यक्ष प्रशन्ना चौलागाईंलाई प्रदान गरिने भएको छ । साहित्यमा कलम चलाउनुहुने नवप्रतिभाहरुलाई यो सम्मान दिइँदै आएको छ । ५,००१ राशिसहितको यो सम्मान पहिलो पटक प्रसिद्धिका लम्साललाई प्रदान गरिएको थियो ।

खड्ग वनस्खण्डी प्रतिभा सम्मान–२०७८ साहित्यकार जनार्दन खनाललाई प्रदान गर्ने निर्णय गरिएको छ । ५,००१ नगदसहित खनाललाई सम्मान गर्न लागिएको हो । यस्तै मंगलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान–२०७८ यस वर्षका लागि चित्रकारितामा दख्खल राख्नुहुने उदयमान प्रतिभा ऋषि केबीलाई प्रदान गर्ने निर्णय भएको छ । ३,५०० नगदसहित यो सम्मान प्रदान गरिनेछ । आँचल साहित्य/कला सम्मान २०७८ खेलकुदतर्फ भलिबलको क्षेत्रमा विशेष योगदान पुर्याउनुहुने भलिवल खेलाडी चुडा खड्कालाई प्रदान गरिने भएको छ । ५,००१ रुपैयाँ नगदसहित यो सम्मान प्रदान गरिनेछ ।