हेटौंडाः हेटौंडामा वडाहरु अध्यक्ष र सचिवहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सुरु भएको छ । स्थानीय सेवा प्रवाह विद्यमान कानुन तथा समसामयिक विषयमा अभिमुखीकरण गराइएको हो । १९ वटै वडाका अध्यक्ष र सचिवहरुले सेवाग्राहीहरुलाई दिने सेवा, सुविधा गुणस्तरीय, छिटोछरितो तथा प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम भएको हो ।
हेटौंडा उपमहानगरपालिकाको मेयर मिना लामाको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख घलानले समय–समयमा वडाध्यक्ष तथा सचिवहरुलाई आफ्ना काम, कर्तव्य र अधिकारका विषयमा तालिम दिनुपर्ने बताउनुभयो । जसले सेवाग्राहीलाई दिइने सेवा तथा सुविधाको गुणस्तरीयता र विश्वसनीयताको सुनिश्चितता हुने उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी तथा सहजकर्ता बद्रीनाथ गैह्रेले अहिले पनि वडाहरुले सेवाग्राहीलाई दिने सेवा सुविधा ढिला र अस्पष्टता रहेको जानकारी दिनुभयो ।
वडाहरुबाट आउने सिफारिसको व्यहोरा अपुरा भएकाले कतिपय सेवाग्राही उपमहानगरबाटै फर्केर जानुपर्ने अवस्था छ । तीन तहका सरकारले नागरिकलाई कसरी सहज रुपमा सेवा सुविधा दिन सकिन्छ ? ती द्विविधाहरुलाई अन्त्य गरी समन्वको भूमिका निर्वाह गर्न यस अभिमुखीकरणले सहयोग पुग्ने छ । नीति, नियमअनुसार शान्ति सुरक्षा सेवा जनप्रतिनिधीहरुले सेवाग्राहीहरुलाई दिनुपर्ने हुन्छ । विपत व्यवस्थापनका लागि जिल्लामा राहत कोष स्थापना भएका छन् । जसका लागि वडाहरुले राहत सिफारिस कसरी गर्नुपर्छ भन्ने लगायत कानुनी विषयमा अभिमुखीकरण दिइने बताउनुभयो । शुक्रबारबाट सुरु भएको कार्यक्रम शनिबारसम्म सञ्चालन हुनेछ ।