हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले आव्हान गरेको लक डाउनको समयमा दैनिक ज्याला, मजदुरी गरेर खानुपर्ने विपन्न समूहलाई राहत वितरण गर्नुपरे स्थानीय तहसँग समन्वय गर्नुपर्ने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सम्बन्ध आज बसेको बैठकले राहत वितरणको कार्य आफूखुसी नगरी स्थानीय तहसँग समन्वय गरी स्थानीय तहलाई बुझाउने र स्थानीय तहले राहत वितरण गरेर विवरण जिल्ला समन्वय समितिलाई बुझाउने निर्णय गरेको छ । यस्तै बैठकले लक डाउनलाई प्रभावकारी बनाउनका लागि सुरक्षाकर्मी खटाउनका लागि आवश्यक ईन्धनका लागि जिल्ला समन्वय समितिले स्थापना गरेको कोषको रकम खर्चने निर्णय समेत गरेको छ ।
चैत १ गतेयता विदेशबाट आउने मकवानपुरवासीको संख्या ४ सय १९ पुगेको छ । सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा १ सय ८७ जना, थाहा नगरपालिकामा ८२, मनहरी गाउँपालिकामा ६९ जना, बागमती गाउँपालिकामा २४ जना पहिचान भएका छन् । यस्तै ईन्द्रसरोवर गाउँपालिकामा १६ जना, भीमफेदी गाउँपालिकामा १४ जना, बकैया गाउँपालिकामा १२ जना, राक्सिराङ गाउँपालिकामा ७ जना, कैलाश गाउँपालिकामा ६ जना र मकवानपुरगढी गाउँपालिकामा ५ जना छन् । बिदेशबाट आएका मध्ये ५ जना आइसोलेसनमा बसेका थिए । तीन मध्ये ४ जनाको स्वाब परीक्षण गर्दा कोरोना भाइरस संक्रमण नदेखिएको र दुई जना अझै आइसोलेसनमा रहेको विवरण बैठकमा प्रस्तुत गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । विदेशबाट आएका सबैजना होम क्वारेन्टाइनमा छन्