धियाँल (बकैया)ः मकवानपुरको बकैया गाउँपालिका–१, धियाँलमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि घरमै सुत्केरी हुने गर्भवतीयको संख्या शून्य भएको छ । गत भदौ महिनाबाट बर्थिङ सेन्टर समेत सञ्चालन गर्ने गरी सामुदायिक स्वास्थ्य इकाई स्थापना भएदेखि ६ जना गर्भवतीले प्रसुती सेवा लिइसकेका छन् भने ३ जना गर्भवतीलाई बारा जिल्लाको निजगढस्थित स्वास्थ्य संस्थामा रेफर गरिएको धियाँलस्थित महादेवडाँडा सामुदायिक स्वास्थ्य इकाईकी अनमी शर्मिला जिम्बाले जानकारी दिनुभयो ।
सामुदायिक स्वास्थ्य इकाईमा असोज १० गते एक गर्भवतीलाई पहिलो पटक प्रसुती सेवा दिएको थियो । स्वास्थ्य इकाई स्थापना भएर प्रसुती सेवा समेत पाउने भएपछि अहिले महादेवडाँडा सामुदायिक स्वास्थ्य इकाईमा २० जना गर्भवतीले नियमित स्वास्थ्य परीक्षण गराइरहेको अनमी जिम्बाले जानकारी दिनुभएको छ । यसअघि वडामै स्वास्थ्य संस्था नहुँदा घरमै सुत्केरी हुनुपर्ने बाध्यता थियो । ‘वडामै स्वास्थ्य संस्था नहुँदा प्रसुती सेवाका लागि बारा जिल्लाको निजगढ या रौतहट जिल्लाको चन्द्रपुरसम्म जानुपर्ने बाध्यता रहन्थ्यो । सडक र यातायातका साधनको सुविधा नहुँदा पनि स्थानीयलाई समस्या भएर घरमै सुत्केरी हुन बाध्य थिए’, अनमी जिम्बाले भन्नुभयो, ‘अहिले स्थानीयलाई ठूलो राहत भएको छ । हामीले सचेतना अभिवृद्धि गर्ने काम पनि गरिरहेका छौं ।’

बकैया–१, धियाँलस्थित महादेवडाँडा सामुदायिक स्वास्थ्य इकाईको भवन ।

बकैया गाउँपालिकाले पालिकाका १२ वटै वडामा स्वास्थ्य इकाई स्थापना गरिसकेको छ । धियाँलमा स्वास्थ्य चौकीको आफ्नै भवन निर्माण गरिएको हो । धियाँलस्थित सामुदायिक स्वास्थ्य इकाईमा अहेव, अनमी र कार्यालय सहयोगीको कुल ३ जनाको दरबन्दी कायम गरिएको छ । तीनैजना स्थानीय छन् । वडामा स्थापना गरेको सामुदायिक स्वास्थ्य इकाईले स्वास्थ्य स्वयम्सेविका, गाउँघर क्लिनिक, खोप क्लिनिकमा स्थानीयलाई स्वास्थ्य सचेतनाको कार्य पनि गर्दै आएको स्वास्थ्य इकाईका इन्चार्ज अहेव मनराज जिम्बाले जानकारी दिनुभयो । बकैया गाउँपालिकाको धियाँल पुग्न बारा जिल्लाको निजगढ वा रौतहट जिल्लाको चन्द्रपुर भएर जानुपर्ने बाध्यता छ । जिल्लाकै विकट क्षेत्र धियाँल पुग्न गाउँपालिकाले करिब ३ किलोमिटरको बाटो बनाउने कार्य अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताउनुभएको छ ।