धियाँलः मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ धियाँलका १५० घर परिवारका लागि आज खाद्यान्न सामग्री प्रदान गरिएको छ । संघीय संसदका सदस्य एवम् अर्थ तथा लेखा समितिका सभापति कृष्णप्रसाद दाहालको पहल, मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा हेटौंडा औद्योगिक क्षेत्रस्थित सिएसआई नेपाल प्रालिले १ लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।
आज एक कार्यक्रमका बीच वडा कार्यालयलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ । वडास्तरीय विपद् व्यवस्थापन समितिले वडाभित्रका विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई प्रतिपरिवार १५ किलो चामल, एक किलो दाल, एक किलो चिउरा, एक लिटर तेल, एक किलो नुन र एक/एक वटा साबुनका दरले प्रदान गरिने जनाइएको छ । खाद्य सामग्री वितरण कार्यक्रममा संघीय संसदका सदस्य एवम् अर्थ तथा खेला समितिका सभापति कृष्णप्रसाद दाहालले विश्वव्यापी फैलिएको कोरोना भइरसको संक्रमणको जोखिमबाट बच्न नागरिकलाई घरमै बस्नु आग्रह गर्दा विपन्न परिवारलाई समस्या नहोस् भनी व्यवसायीलाई आग्रह गरेर राहत सामग्रीको व्यवस्थापन गरिएको बताउनुभयो । कोरोनाको संक्रमणको जोखिमका विषयमा सतर्क हुन आग्रह गर्नुहुँदै कृषि कर्मलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले गाउँपालिकाको १ नम्बर वडामा विपन्न परिवार बढी भएकोले राहत पनि १ नम्बर वडामै केन्द्रित गरिएको र वास्तविक समस्या भएकाहरुलाई वडाबाट खाद्यान्न सामग्री वितरण हुने बताउनुभयो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले छोटो समयमै सहयोगी संस्थासहित समन्वय भएका कारण राहत सामग्री लिएर आउन सहज भएको बताउनुभयो । सहयोगी संस्था सिएसआईका दक्षिण एसियाली क्षेत्रका प्रमुख शान्तिराम धिमालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संकटका बेला विपन्न परिवारलाई राहत वितरणको कार्य गरिएको बताउनुभयो । राहत स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रममा बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, १ नम्बर वडाध्यक्ष बुद्धिमान वाईबाको पनि उपस्थिति रहेको थियो । बकैया गाउँपालिका वडा नम्बर १ धियाँलमा करिब ८ सय घरधुरी रहेका छन् ।