शिक्षा एक आधारभूत मौलिक अधिकार हो । शिक्षा सरल र सरस हुनुपर्दछ । हरेक व्यक्तिले शिक्षा पाउनु उसको अधिकार हो । नेपालमा विगत २० वर्षदेखि शिक्षाको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । अहिलेको परिस्थितिमा शिक्षा क्षेत्रमा परिवेशअनुसार सुधार भएका कुराहरु धेरै छन् भने सुधार गर्नुपर्ने कुराहरु पनि धेरै छन् । विगत दुई वर्षदेखि महामारीको रुपमा रहेको कोरोना भाइरसको प्रभावले गर्दा धेरै विद्यार्थीले शिक्षा÷पढाई छाड्ने स्थिति पनि आएको थियो । गाउँबाट शहर आएका बालबालिका कोरोनाका कारण आर्थिक अवस्था कमजोर भएका बेला कोरोनाले अझ प्रभाव पारेर आफ्नो पढाई छाडेर गाउँघर फर्कने अवस्था आएको थियो । शिक्षाको क्षेत्रलगायत अरु क्षेत्रमा धेरै नै प्रभाव पारेको छ । अझै पनि राम्रोसँग पहिलाको जस्तै सरल दिनहरु छैनन् । धैरै नै समस्या रेहेको छ ।
बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले केही गर्न सक्लान् त ? शिक्षा क्षेत्रमा छुट्टिएर आउने बजेटलाई सही प्रयोग गरेर शिक्षा क्षेत्रको विकास होला त ? पहिलाको भन्दा त शिक्षा राम्रो नै छ, तर व्यवहारोपयोगी शिक्षा छैन । अहिलेको विज्ञान र प्रविधिको समयमा समाजमा यो चलिरहेको शिक्षा/बालबालिकालाई दिइरहेको शिक्षा अलि उपयोगी देखिएको छैन । सरकारी र निजी विद्यालयमा भिन्नता छ । आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउन अभिभावकहरु तयार छैनन् । दुई विद्यालयमा भिन्नता किन भइरहेको छ ? अभिभावकले निजी विद्यालयमा राम्रो शिक्षा र पठनपाठन छ भन्ने धारणा राखेर अगाडि बढिरहेका छन् । सरकारी विद्यालयमा कम सुविधा, राम्रो पठनपाठन नभएको धारणा राखेर अगाडि बढिरहेका अभिभावकको यो धारणालाई परिवर्तन गराउन निर्वाचित जनप्रतिनिधि अब सक्षम होलान् त ?
अहिलेको अवस्थामा बालबालिका डरका साथ पढिरहेका छन् । बालबालिकाले अभिभावक एवम् समाजको डर हटाएर आफ्नो ईच्छाअनुसार बिना डर पढ्नुपर्छ । बालबालिकाले प्रमाणपत्रको लागि होइन, आफ्ना लागि पढ्न जरुरी छ । प्रमाणपत्रमुखी शिक्षाभन्दा चेतनामुखी शिक्षा भए बालबालिकालाई अगाडि बढ्न सहज हुन्छ होला । बालबालिकालाई ईच्छा एउटा भए पनि तैंले यो गर्न सक्छस् वा यो गर्न सक्दैनस् भनिदिने भएकाले उसले आफ्नोे ईच्छाअनुसार गर्न नपाउने र जे पढ्न लागेको, त्यो पनि राम्ररी गर्न नसक्ने अवस्था छ । यहाँको शिक्षा देखावटी प्रतिस्पर्धामा चलिरहेको हुँदा शिक्षामा देखावटी जरुरी छैन, यो हुनु हुँदैन । बालबालिकाको शिक्षा पाठ्यक्रममा आधारित बनाइएको छ । विद्यालयमा ८ घण्टा पाठ्यक्रमको पढाई र घरमा पनि उही पाठ्यक्रम पढिरहँदा बालबालिकालाई पढाई बोझजस्तो लागेको छ । यो मैले पढ्नुपर्छ र यो गरे मैले केही गर्नसक्छु र गर्छु भन्ने भावना नै छैन । प्रमाणपत्रका लागि पढाई र प्रमाणपत्र हासिल गरिसकेपछि विदेशिने प्रचलन चलिरहेको छ ।
विज्ञान र प्रविधिको विकासले विश्व सहज र साँघुरो बनेको छ, तर पनि अन्तर्राष्ट्रियस्तरको शिक्षा लागू भएको छैन । यो लागू हुन जरुरी छ । मानिसको धारणा परिवर्तन हुन जरुरी छ । आम मानिसको शिक्षाप्रतिको अवधारणा खुला हुनुपर्दछ । बालबालिकाले आफूले आफ्ना लागि आफ्नो रुचिको विषय छान्न पाउनुपर्छ । छान्न पाउने विषय व्यवहारिक र सिर्जनशील पनि हुन जरुरी छ, जुन अहिलेको पाठ्यक्रममा अभाव छ । बालबालिकाले आफूले अध्ययन गरेको विषयले यो हुन्छ र मैले यो गर्नुपर्छ भन्ने धारणा राख्न सक्नुपर्छ । अभिभावक÷अन्य व्यक्तिले बालबालिकाको क्षमता र कलाको प्रोत्साहन गर्नुपर्दछ । अहिले कतै पनि नैतिकता विषय छैन । बालबालिकालाई नैतिकता भनेको के हो भन्ने थाहै छैन । नैतिकतालाई प्रयोगात्मकरुपमा अगाडि बढाउनुपर्दछ । अबको स्थानीय तहका नयाँ जनप्रतिनिधि र हरेक ठाउँबाट यो हुन्छ होला त ?
२ वर्षदेखिको महामारीले शिक्षा क्षेत्रलगायत अन्य क्षेत्रमा नकारात्मकमात्र नभएर सकारात्मक प्रभाव पनि पारेको छ । केहि अवसरहरु सृजना पनि गरेको छ । नेपाललगायत अन्य देशहरुको शिक्षा प्रणालीमा यसले सृजना गरेका सकारात्मक परिवर्तन र अवसरहरु छन् । समय परिवेश अनुसार आफूलाई अद्यावधिक गरी शिक्षण सिकाइका वैकल्पिक माध्यम खोज गरी तिनैमार्फत् सिक्न र सिकाउन तयार हुनुपर्ने कुरा बोध गराएको छ । प्रविधिको प्रयोग गर्ने बानीको विकास हुन थालेको छ । अनलाइन तथा अफलाइन मोडमा शिक्षण सिकाइमार्फत् सिकाइलाई निरन्तरता दिने अवसर पनि प्राप्त भएको छ । सिकाइ सहजीकरण क्षमता विकासको पर्याप्त अवसरसँगै प्रविधिको उपयोगमार्फत् स्वअध्ययन गर्ने बानीको विकास भएको छ । अनलाइन सिकाइ र परिवर्तित परिवेशले अभिभावक र विद्यार्थीको बीचमा दोहोरो जवाफदेहिता अभिवृद्धि हुन पुगेको छ ।