हेटौंडाः मकवानपुर जिल्लामा विगत ६ महिनामा ९ जना बालिका पीडित भएका छन् । इन्सेक मानव अधिकारको स्थितिबारे अर्धवार्षिक समीक्षा कार्यक्रममा मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाल अधिकार घटनामा ६ महिनामा ९ जना बालिका पीडित भएका छन् । जसमा ८ जना बालिकाहरु बलात्कार भएको र एक जना नवजात शिशुको हत्या भएको छ ।
कार्यक्रममा इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले २०२२ जनवरी १ देखि जुन ३० सम्मको जिल्लाको मानव अधिकारको स्थितिबारे प्रस्तुत गर्नुभएको थियो । यस वर्षको ६ महिनामा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ३३ वटा घटनाबाट ३३ जना मानिस पीडित बनेको छ । जसमध्ये २२ जना महिला र ११ जना पुरुष पीडित भएको उल्लेख छ । महिला अधिकार घटनामा १० जना पीडित भएकोमा सात जना बलात्कार र तीन जना बाल विवाहको घटना भएको देखिएको छ । यस अवधिमा पाँच वटा हत्याका घटना भएको इन्सेकको तथ्याङ्कमा उल्लेख छ । इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश केसीको अध्यक्षता तथा बागमती प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीको प्रमुख आतिथ्यतामा समिक्षा भएको हो ।
समिक्षामा आफ्नो धारणा राख्नुहुँदै राज्यमन्त्री नेपालीले समाजमा हुने महिला तथा बालबालिकाका हिंसाहरुलाई सबैले नलुकाइ बाहिर ल्याउनुपर्ने बताउनुभयो । अहिले समाजमा पुरुषको तुलनामा महिला तथा बालबालिका नै हिंसामा परिरहेको उहाँले दाबी गर्नुुभयो । मानव अधिकारका क्षेत्रमा काम गर्ने सबै संघसंस्थाले पिडित र पिडकलाई छुट्याउन सक्नुपर्ने उहाँको धारणा छ । समाजमा हुने महिला र पुरुष हिंसालाई एउटै दृष्टिले हेर्नुपर्ने उहाँले बताउनुभयो । प्रदेश सरकारले महिला तथा बालबालिकाको हिंसा न्युनीकरण गर्न आवश्यक कदम चाल्ने उहाँले बताउनुभयो । अहिले हेटौंडामा अस्पतालमा बिरामी, सेवाग्राहीले सास्ती भोग्नुपरेको भन्ने जनगुनासो आफुसँग पनि आएकोले आफुले हेटौंडा अस्पतालको अनुगमन गर्ने बताउनुभयो । बिरामीले र सेवाग्राहीले स्वास्थ्यकै लागि अनेक समस्या भोग्नु नपर्ने बताउनुहुँदै मन्त्री नेपालीले सेवा चुस्त र दुरुस्त हुनुपर्ने बताउनुभयो । समिक्षामा बागमती प्रदेश गैरसरकारी महासंघका अध्यक्ष आरती पाठक, जिल्ला इन्सेक प्रतिनिधि प्रताप विष्ट, माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामा लगायतको आतिथ्यता रहेको थियो ।











