स्कूल क्वीज अन्तर्गत हेटौंडा-१६, हटियास्थित जनप्रिय माविमा आयोजित प्रतियोगितामा सहभागी विद्यार्थीहरु।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले आयोजना गरेको हेटौंडा स्कूल क्वीज–२०७९ को छनौट चरणको प्रतियोगिता सोमबार सम्पन्न भएको छ । आधारभूत तह (कक्षा ६–८) स्तरीय हाजिरीजवाफ (हेटौंडा स्कूल क्वीज) प्रतियोगिताका लागि उपमहानगरपालिकाभित्रका विद्यालयहरुलाई ५ वटा केन्द्रमा विभाजन गरी छनौट चरणमा प्रतिस्पर्धा गराइएको हो ।

उपमहानगरपालिकाको पूर्वी क्षेत्रका विद्यालयहरुलाई हटियाको जनप्रिय मावि केन्द्रमा छनौट चरणको प्रतियोगिता गराइएको थियो । हेटौंडा बजार क्षेत्रका विद्यालयहरुलाई आधुनिक राष्ट्रिय मावि र ब्रह्मदिक इङ्गलिस स्कूललाई केन्द्र बनाएर प्रतिस्पर्धा गराइएको थियो । यस्तै, उपमहानगरको पश्चिमी क्षेत्रका विद्यालयहरुलाई बसामाडीस्थित महेन्द्र किरण मावि र नगरको दक्षिणी क्षेत्रका विद्यालयहरुलाई पदमपोखरीको महेन्द्र माविमा केन्द्र निर्धारण गरेर प्रतियोगिताको छनौट चरणको प्रतिस्पर्धा गराइएको हो ।

हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काको प्रमुख आतिथ्यता तथा जनप्रिय माविका प्रधानाध्यापक नमराज अर्यालको सभाध्यक्षतामा जनप्रिय माविमा प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि खड्काले महाशाखाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । जनप्रिय माध्यमिक विद्यालयमा भएको प्रतियोगिताको शिक्षक रविन श्रेष्ठले संयोजकत्व गर्नुभएको थियो ।
जनप्रिय मावि केन्द्र रही हेटौंडाको पूर्वी क्षेत्रबाट सहभागी भएका १२ वटा विद्यालयमध्ये लक्ष्मी आधारभूत विद्यालय, बंशगोपाल माध्यमिक विद्यालय र बालबोध माध्यमिक विद्यालय क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । कार्यक्रममा शिक्षा विकास महाशाखाका राजमणि शर्मा अधिकारी तथा हाजिरीजवाफ प्रतियोगिता संयोजक होमबहादुर नेपालीको उपस्थिति रहेको थियो ।

जनप्रिय माविका शिक्षक सुनिल गौतमले प्रतियोगिता सञ्चालन गर्नुभएको थियो । जनप्रिय माविका शिक्षकहरु भुपेन्द्र चौलागार्इं, संप्रस पौडेल र अभिषेक बास्तोलालगायतले प्रतियोगिताको व्यवस्थापनमा सहयोग गर्नुभएको थियो । छनौट चरणको प्रतियोगिताअन्तर्गत् हेटौंडा–४ को आधुनिक राष्ट्रिय माविमा भएको प्रतिस्पर्धाबाट आधुनिक राष्ट्रिय मावि, चन्द्रोदय मावि र भूटनदेवी मावि क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । आधुनिक केन्द्रमा भएको प्रतियोगितामा १० वटा विद्यालयको सहभागिता थियो ।

यस्तै, ब्रह्मदिक इङ्गलिस स्कूलमा भएको छनौट चरणको प्रतियोगितामा बालजागृति इङ्गलिस स्कूल, ब्रह्मदिक इङ्गलिस स्कूल र जेनिथ इन्टरनेशनल स्कूल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । ब्रह्मदिक केन्द्रमा भएको प्रतियोगितामा १२ वटा विद्यालयहरुको सहभागिता थियो । महेन्द्र किरण माध्यमिक विद्यालय, बसामाडीमा भएको प्रतियोगितामा सनसाइन इङ्लिस स्कूल, त्रिभुवन माध्यमिक विद्यालय र जेम्स बोर्डिङ स्कूल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । महेन्द्र किरणमा भएको छनौट चरणको प्रतियोगितामा ८ वटा विद्यालयको सहभागिता रहेको थियो ।

महेन्द्र माध्यमिक विद्यालय, पदमपोखरीमा भएको प्रतियोगितामा महेन्द्र मावि, दीपज्योति आधारभूत विद्यालय र फेमकल एकेडेमी क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । महेन्द्र मावि केन्द्रमा भएको छनौट चरणको प्रतियोगितामा १४ वटा विद्यालयको सहभागिता थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका सहभागी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । छनौट चरणको प्रतियोगितामा ५ वटै केन्द्रबाट प्रथम र द्वितीय हुने विद्यालयहरुबीच फाइनल चरणको प्रतिस्पर्धा हुनेछ । फाइनलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार नगदसहित सोही रकम बराबरको सामग्री पुरस्कार प्रदान गरिने बताइएको छ ।