हेटौंडाः समाज परिवर्तनमा स्थानीय सरकार र गैरसरकारी संस्थाबीच समन्वयकारी भूमिका हुनुपर्ने बताइएको छ । बिहीबार गैरसरकारी संस्था महासंघ नेपाल मकवानपुरले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधीहरुको स्वागत तथा बधाई कार्यक्रममा यस्तो बतााइएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले महिला र बालबालिकाको क्षेत्रमा गैससले गरेको कार्य सराहनीय रहेको बताउनुभयो । एकद्वार प्रणालीबाट अघि बढ्ने नगर प्रमुख लामाले प्रतिबद्वता जनाउनुभयो । उपमहानगरले सञ्चालन गर्दै आएको किशोरी संवाद कार्यक्रम निरन्तरता दिन नसकेकोमा दुख व्यक्त गर्नुहुँदै नगर प्रमुख लामाले स्थानीय सरकारले महिला, गरिब, विपन्न, बालबालिकाका क्षेत्रमा सहकार्य तथा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गैससका केन्द्रिय सचिव बुद्व लामाले गैरसरकारी संस्थाले विकासकोे कार्यमा गरेको साझेदारी ओझेलमा पर्ने गरेको गुनासो गर्नुभयो । स्थानीय सरकारले गर्नुपर्ने कार्य गैससले गर्दै आएको पनि लामाले दावी गर्नुभयो । सहकार्यको कार्यविधिअनुसार नियमन तथा पारिस्परिक जवाफदेहिताका लागि स्थानीय सरकारसँग मिलेर गैससहरु अघि बढ्ने प्रतिवद्धता लामाले व्यक्त गर्नुभयो । बालमृत्युदर, मातृ मृत्युदर, स्वास्थ्य सचेतना, शिक्षाको पहुँच तथा विद्यार्थीले बीचमै पढाइ छाड्ने जस्ता समस्याका विषयमा स्थानीय तहले ध्यान दिनुपर्नेमा सहभागीले जोड दिएका थिए । गैसस मकवानपुरका अध्यक्ष डा. कृष्णप्रसाद धितालले अध्यक्षतामा मकवानपुर जिल्लाका १० वटै पालिकाका प्रमुख तथा उपप्रमुखका लागि सम्मान तथा बधाई कार्यक्रमको आयोजना गरिएको हो ।