हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा राष्ट्रपति रनिङशिल्ड तथा मेयर भलिबल प्रतियोगिता सुरु भएको छ । आज शुक्रबारबाट सुरु भएको प्रतियोगिताको थाहा नगरपालिकाका मेयर विष्णु बहादुर विष्टले उद्घाटन गर्नुभयो ।

थाहा–३ स्थित घट्टेचौरमा प्रतियोगिता सुरु भएको आयोजक विद्यालय जनकल्याण माविका प्रधानाध्यापक सानुभाई कार्कीले जानकारी दिनुभयो । प्रतियोगिताका लागि थाहाका मावि विद्यालयहरुले सहभागिता जनाएका छन् । भलिबल प्रतियोगिताका लागि नगरपालिकाले १ लाख रुपैयाँ तथा अन्य विधाका खेलहरु सञ्चालन गर्नका ६ लाख रुपैयाँ बजेट छुट्याइएको थियो । प्रतियोगिता आइतबारसम्म चल्नेछ । प्रतियोगितामा दौड, कराँते, तेक्वान्दो र एथलेटिक्स तर्फका खेलहरु हुनेछन् ।

आयोजक विद्यालय जनकल्याण माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहाका उपमेयर भरत बहादुर गोपाली र प्रतियोगितामा सहभागिता विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।