हेटौंडाः राष्ट्रिय रोटरी माध्यामिक विद्यालय मनहरीको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष शालिकराम बानियाँले आफ्नो जन्म दिन विद्यालयमा मनाउनु भएको छ । बानियाँले जन्म दिनमा विद्यालयमा रहेका विपन्न तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरी जन्म दिन मनाउनु भएको हो ।
मंगलबार विद्यालयमा अध्ययनरत कक्षा ६–१० सम्मका विपन्न र जेहेन्दार गरी १० जना विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको छ । उहाँले विद्यालयमा अध्ययनरत ७ जना छात्रा र ३ जना छात्रलाई स्कुल ब्याग, क्याल्कुलेटर, जमेट्रिबक्स, कपी, कलम गरी प्रत्येक विद्यार्थीलाई १ हजार ७ सय रुपैयाँ बराबरको शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ ।
अनावश्यक खर्च गरेर जन्म दिन मनाउनुभन्दा आफ्नै विद्यालयको बालबालिकालाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो । बानियाँले जम्मा ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री सहयोग गर्नुभएको प्रधानाध्यापक गोविन्द पौडेलले जानकारी दिनुभयो ।