अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे ।

हेटौंडाः संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको बजेट स्रोत घटाउने र खर्च बढाउने बजेट भएको पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद् मकवानपुरले बिहीबार हेटौंडामा आयोजना गरेको बजेट र वर्तमान आर्थिक अवस्था विषयक् अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै पूर्वअर्थमन्त्री पाण्डेले आगामी आर्थिक वर्षका लागि संघीय सरकारले प्रस्तुत गरेको बजेटमा चालु आर्थिक वर्षको तुलना आयस्रोत घटाएको तर, खर्च बढाउने अवस्था रहेको बताउनुभयो ।

आम्दानी बढाउने आधार नहुनु, खर्च बढ्नुले आर्थिक असन्तुलनको स्थिति बढ्ने जोखिम रहेको पाण्डेले औँल्याउनुभयो । आसन्न संघीय र प्रदेश निर्वाचनलाई प्रभावित गर्ने गरी बजेट प्रस्तुत भएको उल्लेख गनर्नुहुँदै पाण्डेले वजेटलाई यत्ति हल्कारुपमा लिन नहुने जीकिर गर्नुभयो । बजेटको सिद्धान्तमा रहेर मुलुकको अर्थव्यवस्थालाई बलियो बनाउने गरी, प्रभावकारी कार्यान्वयन गर्न सकिने बजेट प्रस्तुत गर्नुपर्ने आवश्यकता विपरित निर्वाचनलक्षित गरेर लोकप्रिय सुनिने बजेट प्रस्तुत हुनु दुखद् भएको पाण्डेको भनाइ छ ।

बजेटले आम्दानी र खर्चको सन्तुलनलाई कायम राख्न सक्नुपर्नेमा ध्यान दिनुपर्ने पाण्डेले स्पष्ट पार्नुभयो । बजेट प्रस्तुत गर्ने मन्त्री राजनीतिक व्यक्ति भए पनि बजेट भने राजनीतिक मात्रै नभई प्राविधिक र जटिल विषय भएकोले विज्ञ, सरोकारवाला, उपलब्ध स्रोत, साधनलाई मनन् गरेर तयार पार्नुपर्ने विषय भएको उहाँको धारणा थियो ।

नेपाल बुद्धिजीवी परिषद् मकवानपुरका अध्यक्ष मोहनप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का उपाध्यक्ष घनश्याम घिमिरेले अन्तरक्रिया आयोजनाको उद्देश्य बारे बोल्नुभएको थियो । संघीय सरकारले प्रस्तुत गरेको बजेटको समीक्षा गर्दै प्रदेश र स्थानीय सरकारले ल्याउने बजेटको विषयमा सरोकारवालालाई जानकारी गराउन तथा मकवानपुरका स्थानीय तहका जनप्रतिनिधिलाई बजेटको सैद्धान्तिक पक्षबारे अवगत गराउन अन्तरक्रियाको आयोजना गरिएको उहाँको भनाइ थियो ।

बजेटको विषयमा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकरप्रसाद उपाध्यायले पनि टिप्पणी राख्नुभएको थियो । उहाँले हरेक बजेटको प्रमुख चुनौति नै प्रभावकारी कार्यान्वयन गर्नु रहेको बताउनुभयो । बजेट सुन्दा, पढ्दा, हेर्दा रहर लाग्दो देखिए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा आशाको पोका मात्रै हुने जोखिम रहने डा. उपाध्यायले बताउनुभयो ।

अन्तरक्रियामा मकवानपुर बहुमुखी क्याम्पसका अर्थशास्त्र विषयका प्राध्यापक भोजराज ढकालले लोकप्रिय जस्तो देखिने र आगामी संघीय र प्रदेशको निर्वाचनमा जनमतलाई प्रभावित गर्ने गरी बजेट तयार पारिएको दावी गर्नुभयो । अर्थशास्त्रीय सिद्धान्त र धर्मविपरित बजेट चुनावी ललिपप जस्तो भएको उहाँको भनाइ थियो । अन्तरक्रियामा जनप्रतिनिधिसँगै उद्योगी, व्यवसायी, शिक्षक, कर्मचारीको पनि उपस्थिति रहेको थियो ।