हेटौंडाः साहित्य संगम मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान आईतबार समपर्ण गर्ने भएको छ । संगमले ४ जना स्रष्टालाई सम्मानित गर्दैछ ।
संगमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता “गोपालप्रसाद रिमाल स्मृति सम्मान”–२०७८ वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।
रिमालका परिवारले अक्षयकोष स्थापना गरेको सम्मानको राशी २० हजार एक रुपैयाँ रहेको छ । त्यसैगरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालय संगममा स्थापना गरेको प्रगतीवादी कवि श्यामप्रसाद शर्माको स्मृतिमा स्थापना गरेको “श्यामप्रसाद शर्मा स्मृति सम्मान”–२०७८ यसवर्ष साहित्यकार तथा पत्रकार नवराज शर्मा तिमल्सिनालाई प्रदान गरिँदैछ । यस सम्मानको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।
यस्तै, हास्यव्यङ्ग्यकार डा. गणेशकुमार पौडेलले स्थापना गरेको “शान्तिदेवि स्मृति वनस्खण्डी साहित्य सम्मान”–२०७७ र ०७८ का लागि यसवर्ष क्रमशः लघुकथाकार तथा कवि श्रीओम श्रेष्ठ (रोदन) र कवि शान्तिप्रिय वन्दनालाई प्रदान गरिने भएको छ । पौडेललेले सासुआमाको नाममा स्थापना गरेको सम्मानको राशी जनही १० हजार एक रुपैयाँ रहेको छ ।