हेटौंडाः हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करणअन्तर्गत् शनिबारको खेल स्थगित भएको छ । मकवानपुर जिल्लाका स्थानीय तहहरुको मुख्य प्रायोजनमा भइरहेका अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत् शनिबारको खेल वर्षाका कारण स्थगित भएको हो ।
शनिबार दिउँसो लगातार ठूलो वर्षा भएका कारण मैदानमा खेल खेल्न कठिनाई भएकाले खेल स्थगित भएको आयोजक मकवानपुर जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामाले जानकारी दिनुभयो । शनिबार स्थगित भएको फ्रेण्डस क्लब र नेपाल एपीएफ फुटबल क्लबबीचको खेल आज आइतबार बिहान ८ः३० बजे खेलाइने अध्यक्ष लामाले बताउनुभयो । आइतबारका लागि निर्धारित खुमलटार युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल पूर्वनिर्धारित खेल तालिकाअनुसार नै दिउँसोको ३ बजेदेखि हुने आयोजकले जानकारी दिएको छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख नगद पुरस्कार पाउनेछ । प्रतियोगिताको उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । १२ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।