–अजीता ओझा
मुक्तक–१
बर्बराउँछु अरे सानू नानाभाती सपनीमा
टुट्छन् सारा विश्वासहरु विश्वासघाती सपनीमा
केही पल होइन तिमी हरेक पल यादमा हुन्छौ
तिम्रै नाम पुकार्छु रे मध्यराती सपनीमा
मुक्तक–२
छोरो नै हो सम्पत्तिको हकदार भनेर
साँवा–व्याज एकएक गरी हिसाब गनेर
बा बितेकै दिनदेखि हो घरमा घुइँचो बढेको
आउने गर्थे आफन्तजन नि साहु बनेर
मुक्तक–३
नछाड्ने भने पनि एकाअर्काको साथ
मनमुटाव पो हुने हो कि एउटै लाग्थ्यो त्रास
अचम्मको माया थियो विश्वास पनि शंका पनि
नसम्झेको दिन थिएन नरोएको रात
मुक्तक–४
खबर सुनाउनेले सुनाए अचम्मको काम गर्दै हिड्छौ रे
दुनियाँ सामु मलाई गिराउने इन्तजाम गर्दै हिँड्छौ रे
कुनैदिन मेरो बारे नराम्रो सोच्नेसँग पनि लड्ने तिमी
सुन्दैछु आजभोलि त मेरो नै बदनाम गर्दै हिँड्छौ रे
मुक्तक–५
असम्भव छ था हुँदा पनि जुन तारा माग्यो
मलाई हराउनकै निम्ति संसार सारा माग्यो
अचम्म लाग्यो म बिना एकपल बाँच्न नसक्ने उस्ले
जब जन्मदिनको उपहारस्वरुप छुटकारा माग्यो