निर्वाचन अधिकृतको कार्यालय बकैयाले प्रकाशित गरेको निर्वाचन कार्यतालिका ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा महिला र दलित वा अल्पसंख्यक सदस्य पदको निर्वाचन तालिका शुक्रबार सार्वजनिक गरिएको छ । सदस्य पदका लागि जेठ १३ गते मतदान हुने भएको निर्वाचन अधिकृतको कार्यालय बकैयाले जानकारी दिएको छ । पालिकाभित्रका महिला एकजना र अल्पसंख्यक वा दलित एकजना गरी दुईजना निर्वाचित गर्नुपर्ने व्यवस्था छ ।

बिहीबार नवनिर्वाचित गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले सपथ ग्रहण गर्नुभई गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएपछि महिला र दलित वा अल्पसंख्यक सदस्य निर्वाचनको कार्यक्रम अगाडि बढेको हो । निर्वाचन तालिका अनुसार जेठ १० गते मतदाता नामावली प्रकाशन गर्ने, नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधित मतदाता नामावली प्रकाशन, मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । यस्तै, जेठ ११ गते मतदाताको विरोधमा दिएको उजुरी उपर जाँचबुझ गर्ने, अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय भएको छ ।

जेठ १२ गते मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

जेठ १३ गते मतदान सकिएपछि मतदान केन्द्रमा मतदान भएका सबै मत पेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतले सुरक्षित रुपमा प्राप्त गरेपछि मतगणना कार्य सुरु हुने बताइएको छ । अल्पसंख्यक एकजना र दलित महिला एकजनाका लागि हुने निर्वाचनमा हालै निर्वाचित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुले मतदान गर्नेछन् । त्यसलगत्तै गाउँ परिषद्का सदस्यमध्येबाट ४ जनालाई कार्यपालिका सदस्य चयन गरिनेछ ।