हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सन्तुलित विकासका पक्षमा ध्यान दिन सुझाव दिनुभएको छ । बिहीबार जिल्लाका ८ वटा स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुको सपथग्रहण कार्यक्रममा उहाँले सन्तुलित विकासको अवधारणा अनुसार काम गर्न सुझाव दिनुभयो ।
कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुहुँदै प्रमुख खुलालले अघिल्ला जनप्रतिनिधिहरुले गरेका राम्रा कामलाई निरन्तरता दिँदै अगाडि बढ्न र समुन्नत मकवानपुर निर्माणमा लाग्न आग्रह गर्नुभयो । उहाँले विकासको अवधारणालाई परिवर्तन गर्दै भौतिक विकास मात्र नभई सामाजिक चेतना बृद्धि गर्नेतर्फ समेत ध्यान दिन सुझाव दिनुभएको छ ।
सन्तुलित विकासको अवधारणा अनुसार भौतिक, सामाजिक र आर्थिक विकासमा सक्दो ध्यान दिएर दिगो विकास र सुशासन सहितको समृद्ध मकवानपुर निर्माणमा अग्रसर हुन सुझाव दिनुभयो । बैशाख ३० गते सम्पन्न निर्वाचन अन्तर्गत मकवानपुर जिल्लाका ८ स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मकवानपुरका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले सपथ ग्रहण गराउनु भएको थियो ।