हेटौंडाः हेटौंडा वडा नम्बर ११ को अध्यक्ष पदमा महिला निर्वाचित हुने संकेत देखिएको छ । हेटौंडा ११ को ५ सय ५० मत गणना गर्दा नेकपा एमालेकी उम्मेदवार जुना दाहालले २ सय ५ मत पाएसँगै महिला अध्यक्ष आउने संकेत देखिएको हो ।
यसअघि मकवानपुरको बकैया गाउँपालिका–५ मा लक्ष्मी जिम्बा र बकैया–१० मा कमला कुमारी वाईबा वडा अध्यक्षमा निर्वाचित भइसकेका छन् । दुबैजना नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लामा एकजना पनि महिला वडा अध्यक्ष निर्वाचित भएका थिएनन् । यस पटकको निर्वाचनमा भने प्रमुख राजनीतिक दलबाट महिला वडा अध्यक्ष निर्वाचित भएका छन् ।
हेटौंडा ११ मा अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार मधु कुमार थापा मगरले हालसम्म एक सय ४९ मात्र मत प्राप्त गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार अक्कल बहादुर रोक्काले ९१ मत प्राप्त गरेका छन् । मत गणनाको सुरुवातदेखि नै नेकपा एमालेकी दाहालको मत धेरै देखिएको छ । जुना दाहाल २०७४ सालको निर्वाचनमा वडा सदस्य निर्वाचित हुनु भएको थियो ।
हेटौंडा ११ मा ५ सय ५० मत गणना हुँदा मेयरमा नेकपा समाजवादीलाई १ सय ४९, नेकपा एमालेलाई १ सय ४१ र राप्रपालाई १ सय ८० मत प्राप्त भएको छ । यस्तै, उपमेयरमा नेपाली कांग्रेसलाई १ सय ९८, नेकपा एमालेलाई १ सय ९० र राप्रपालाई ४६ मत प्राप्त भएको छ ।