हेटौैंडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै ।

हेटौंडाः हेटौैंडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनको प्रतिबद्धतापत्र मंगलबार सार्वजनिक गरिएको छ । गठबन्धनको शिर्षनेताहरुको उपस्थितिमा सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिईएको छ ।

प्रतिबद्धता पत्रमा जेष्ठ तथा अशक्त नागरिकको लागि घर घरमा स्वास्थ्य सेवा उपलब्ध गराउने, हेटौंडा अस्पतालको स्तरोन्नति गर्न पहल गर्ने, प्रत्येक वडामा एमबिबिएस डाक्टर सहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ । यस्तै, नगरमा खानेपानीलाई निशुल्क गर्ने प्रतिबद्धता गरिएको छ । नगरभित्र मासिक १० हजार लिटरसम्म खानेपानी निशुल्क उपलब्ध गराउने उल्लेख गरिएको छ । यस्तै, वार्षिक ३ सय युनिटसम्म विजुली निशुल्क उपलब्ध गराउने, हेटौंडा विकास प्राधिकरण गठन गर्ने, नगर यातायातको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने जनाएको छ । यस्तै, शिक्षा तर्फ प्रत्येक वर्ष नगरपालिका भित्रका ५ जना विद्यार्थीलाई एमबिबिएसको छात्रवृत्ति व्यवस्थापन गर्ने, सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मीको व्यवस्था गर्ने र औद्योगिक क्षेत्रकालागि आवश्यक जनशक्ति उत्पादन गर्ने भएको छ ।

प्रतिबद्धता पत्रमा उपमहानगरपालिकामा गरिबी न्युनीकरण गर्न एक घर एक रोजगारलाई प्रथामिकतामा राख्ने भएको छ । विभिन्न स्थानिय तहहरुमा सहकारीको माध्यमबाट रोजगारी आयमुलक कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । नगर भित्रको फोहोर व्यवस्थापन गरी जैविक, प्राङ्घागरिक मल उत्पादन गर्न कलकारखानाको निमार्ण गर्ने भएको छ । पर्यटन क्षेत्रलाई प्रर्वधन गर्न नगर भित्रको नदी खोलाहरुको व्यवस्थापन गरी अस्थायी स्विमिङ पुल, जलविहार निमार्ण तथा पार्कहरु निर्माण गर्ने भएको छ । यस्तै, प्रत्येक वडामा फ्रि वाईफाई, (इन्टरनेट सेवालाई सामुदायिक क्षेत्रहरुमा निशुल्क सेवा उपलब्ध गराउने र जनताको घर घरमा स्थानीय सरकार(उपमहानगरपालिकाको हरेक सेवा घर घरमा दिने) प्रतिबद्धता पत्रमा उल्लेख छ । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमीकहरुको पहिचान गरी सम्मानजनक व्यवस्थापन गर्ने जनाएको छ । गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धता २२ बुँदामा समेटिएको छ ।

प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा गठबन्धनबाट मेयर पदका उम्मेरदवार मीना लामा, उपमेयर पदका उम्मेदवार राजेश बानियाँ, नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बनियाँ, नेकपा एकीकृत समाजवादीका नेता केदार न्यौपाने, विरोध खतिवडा, नेकपा माओवादी केन्द्रका प्रेम बहादुर पुलामी (छिन्तु) र नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको उपस्थिति रहेको थियो ।